सूचनाको शक्ति - The Power Of Information

        

तिहार बिशेष

तिहारमा किन बालिन्छ दियो ?

नेपालीहरुको दोस्रो ठूलो महान् पर्व तिहार । शरद ऋतुको आगमनसँगै बिस्तारै दिन छोटो र रात लाम्बिँदै जान्छ । बडा दशैको कोजाग्रत पूर्णिमापछि चन्द्रमा औसी नजिक हुँदै जान्छ । अनि गाउँघरमा मखमली र सयपत्री मग्मगाउँछन् । फूलको सुगन्धले एक प्रकारको दिव्य माहोल स्वतः बन्छ । तिहार सबै वर्गका मानिसको रमाइलो पर्व हो । यस पर्वको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी, दाजुभाइका लागि विशेष दिन हो । यस दिनलाई जनबोलीमा भाइटीका भनिन्छ ।

नेपालका साथै भारतका कतिपय प्रान्तहरुमा समेत भाइटीका मनाइन्छ, त्यहाँ भैयादूज भनिन्छ । बंगाली समुदायले पनि भाइटीका भव्यरुपमा मनाउँछन् । तिहार प्रकाश पर्व हो, त्यसैले यसलाई दीपावली भनिएको भन्दा फरक पर्दैन । पहिला पहिला आआफ्नो घरमा गाइको घ्यू तथा शुद्ध तोरीको तेलमा माटोको पालामा दियो बाल्ने चलन थियो । यस्तो शुद्ध प्रकारका तेलमा दियो बाल्ने गर्नाले हाम्रो वातावरणहरुमा पसेका अवाञ्छित र स्वास्थ्यका लागि हानिकारक तत्व नष्ट हुनुका साथै हाम्रो मस्तिष्कमा सकारात्मक उर्जा प्रवाहित हुने बिश्वास गरिएको छ ।

गाईको शुद्ध घ्यूमा बालिएको दियो केही समय हेर्नाले आँखाको ज्योति तेज हुनेसमेत विश्वास गरिने बुढापाकाहरुको भनाइ छ । वास्तवमा दियो हाम्रो दैनिकीमै तथा पूजाआजामा नबालिने पनि होइन दैनिकरुपमा बिहान तथा बेलुका त्यसैले आरती गरिन्छ । बालिएन भने पूजा अपूर्ण हुन्छ । तर तिहारमा बालिने दियो बिशेष उत्सवको रुपमा मानिने भएकोले यसले परस्पर सद्भाव र सामाजिक समरसता एवं भातृत्व कायम राख्न मद्दत मिल्दछ । तिहारमा लक्ष्मी पूजाको आराधना गर्ने हुनाले यसलाई धनवन्तरी (धनतेरस) पनि भनिन्छ । धनधान्यकी देवी लक्ष्मी हुन् ।

साथै घरको मूल ढोकामा दिपावली गर्नाले यमराज प्रसन्न भई दीर्घजीवन प्रदान गर्ने समेत विश्वास गरिन्छ । कुनै नकारात्मक सन्देश प्राप्त गर्न नपरोस् तथा हानिकारक किराहरुको प्रवेश नहोस् भन्नाले गाईको गोबरले घर लिपपोत गरिन्छ अनि झ्याल ढोकालाई समेत सयपत्री र मखमलीको माला पहि¥याएपछि प्रकाश र सजावटले मनमोहक बन्दछ । बास्नादार धुप, मखमली र सयपत्री फूलको मगमग सुगन्धले वातावरणले एक किसिमको मादकता प्रदान गर्दछ । परापूर्वकालमा कन्या केटीले भैलो गित गाउँदै घरघरमा भैली खेलिन्थ्यो भने गोबद्धन पूजाको दिन कुमार केटाहरुले देउसी खेल्ने परम्परा रहि आएको थियो । तर आजकल सबै दिन सबै वर्गका महिला तथा पुरुषहरुले देउसी भैलो खेल्ने गरेका छन् ।

तिहारमा घरघरमा झिलिमिलि बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सबै दृष्टिले महत्वपूर्ण छ । दीपावली स्वच्छता र प्रकाशको विशेष पर्व । अन्धकारलाई परास्त गर्दै उज्यालोको यात्रा हो जीवन भन्ने पावन सन्देश दिन्छ तिहारले । धार्मिक विश्वास अनुसार त्रेतायुगमा भगवान श्रीराम, लक्ष्मण र सीता १४ बर्ष बनवास पुरा गरि र्फकदा कार्तिक कृष्ण पक्षको औसीको रात थियो । अयोध्यावासीले आगमनको खुसीयालीमा उनीहरुको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेका वर्ष सोही तिथिमा दीपावली गरिएको हो भन्ने विश्वास गरिएको छ । यसका साथै कुवेरको बास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ ।

दीपावली प्रकाश र सुगन्ध, मिष्टान्नको त्यौहार हो, पर्व हो । मन नै उमंगले भरिने उत्सव हो । गाउँघरमा माटोको पाली भन्दा पनि क्यामुनाको पातको खोरी बनाई तथा केराको सुत्लामा बत्ती बालिने परम्परा अझै रहिआएको छ । अचेल बजारमा पाइने रेडिमेट पालीहरु भन्दा यो कैंयौं गुणा स्वस्थ्यकर छ । वास्तुशास्त्र अनुसार पनि बत्ती बाल्दा थुप्रै प्रकारका वास्तुदोष निवारण हुन्छन् । घ्युको बत्तीबाट निस्केको सुगन्धित धुवाँले हानिकारक किटाणुहरुको नाश गर्छ । अझै बत्तिलाई पूर्व फर्काएर बाल्दा आरोग्य र उत्तर फर्काएर बाल्दा धन लाभ हुन्छ भन्ने बिश्वास गरिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार १५:२५