सूचनाको शक्ति - The Power Of Information

        

समाचार

अधिकतम ४४० रुपैयाँले बढ्यो हवाई भाडा

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा ४४० रुपैयाँ वृद्धि गरिएको जनाएको छ ।

यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि ४४० रुपैयाँ बढेको छ । यो गन्तव्यमा साविकमा तीन हजार ८०० रहेकोमा बढेको भाडादर चार हजार छोटो गन्तव्य २४० रुपैयाँ कायम भएको छ । काठमाडौं–सिमरामा सबैभन्दा कम ९५ रुपैयाँ वृद्धि भएको छ ।

यो गन्तव्यमा पनि साविकमा ७७० रहेकामा बढेर ८६५ रुपैयाँ कायम भएको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा ११.६ प्रतिशत (१० रुपैयाँ प्रतिलिटर) बढाएको थियो । सोहीअनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । संघका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ ।

हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटरबाट बढेर ९६ रुपैयाँ प्रतिलिटर पुगेको छ । पर्वतीय उडानमा पनि ३४५ रुपैयाँ भाडा वृद्धि भएको छ । हवाई यात्रुले अब काठमाडौंबाट भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ इन्धन चार्ज बढी तिर्नुपर्नेछ ।

तुम्लिङटारमा १८५, राजविराजमा २०५, नेपालगन्जमा ३३० रुपैयाँ बढी भाडा तिर्नुपर्नेछ । पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ ।

विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । त्यस्तै भरतपुर–भैरहवा रुटमा १३५ रुपैयाँ भाडादर बढेको छ । प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी अनुमोदन गरेको र सोहीअनुरुप बढेको इन्धन चार्ज सबै एयरलाइन्सलाई पठाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार ०७:१०