सूचनाको शक्ति - The Power Of Information

        

कात्तिक २७–३० मा राप्रपा महाधिवेशन

राप्रपाभित्र धवल शमशेर र राजेन्द्र लिङ्देनको गठबन्धन, कमल थापा अप्ठेरोमा

काठमाडौं । शाही शासनकालदेखि नै राप्रपा (बीचमा राप्रपा नेपाल पनि)को नेतृत्व गर्दै आएका अध्यक्ष कमल थापालाई आउँदो महाधिवेशनमा अध्यक्ष पदमा चुनौती दिन पार्टीका दुई प्रभावशाली युवा नेताले गठबन्धनको तयारी गरेका छन् । कात्तिक २७–३० मा काठमाडौंमा हुने महाधिवेशनमा यसअघि अध्यक्ष थापानिकट मानिएका पूर्वमहामन्त्रीद्वय डा.धवल शमशेर राणा र राजेन्द्र लिङ्देनले अध्यक्ष थापालाई चुनौती दिन लागेका हुन् ।

यसमध्ये लिङ्देन गत आम निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित हुने राप्रपाका एकमात्र नेता हुन् भने डा.राणा राप्रपाले नेतृत्व गरेको एकमात्र उपमहानगरपालिका नेपालगन्जका प्रमुख हुन् । थापासँग अध्यक्षद्वय पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी पनि सन्तुष्ट छैनन् । यदि पशुपति शमशेर र डा.लोहनीको समर्थन प्राप्त गर्न सके भने लिङ्देन–राणाले थापालाई पराजित गर्न सक्ने सम्भावना ज्यादा छ । नेतृत्वमा आफ्नो दाबेदारीलाई बलियो बनाउन सोमबार (१५ कात्तिक) लिङ्देन–राणाले दरबारमार्गस्थित होटल ‘एलो प्यागोडा’मा चियापान कार्यक्रम आयोजना गरे ।

जहाँ पार्टीका नयाँ पुस्ताका थुप्रै नेता–कार्यकर्ता सहभागी भए । ‘अध्यक्षमा म उठ्ने कि राजेन्द्रजी भन्नेबारेमा छलफल गर्दैछौँ,’ राणाले भने, ‘राजेन्द्रजीले अध्यक्षमा प्रतिस्पर्धा गरे म महामन्त्री र मैले अध्यक्षमा प्रतिस्पर्धा गरे उहाँ महामन्त्रीको उम्मेदवार हुने सहमति हामीले गरेका छौँ ।’ राप्रपाका तीन अध्यक्षमध्ये थापाले मात्र अध्यक्षमा प्रतिस्पर्धा गर्ने योजना अघि सारेका छन् । पशुपति शमशेर र डा.लोहनी भने मौन छन् । त्यसैले, राणा र डा.लोहनीलाई समेत साथमा लिने उद्देश्यले लिङ्देन–राणाले आपसमा गठबन्धन बनाएका हुन् ।

निर्मल निवासको साथ !

संविधानसभाको दोस्रो निर्वाचन (२०७०) मा हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापनाको एजेन्डामार्फत् समानुपातिकतर्फ २५ सिट हासिल गरे पनि एजेन्डामा इमान्दार नरहेको आरोप अध्यक्ष थापामाथि लाग्दै आएको छ । तत्कालीन शक्ति सन्तुलनका आधारमा संविधान जारी गर्न सहमति जनाउनुपरेको स्पष्टीकरण अध्यक्ष थापाले दिँदै आएका छन् । तर, संविधान जारी भएपछि पार्टीका एजेन्डासँग उपप्रधानमन्त्री पद साटेको भन्दै राजावादीहरु उनीप्रति असन्तुष्ट छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँगको व्यक्तिगत सम्बन्ध सुमधुर नै छ । तर, संविधान जारी गर्न दिएको सहमतिका कारण उनको राजनीतिक भूमिकाप्रति निर्मल निवाससमेत सन्तुष्ट नरहेको चर्चा राप्रपाभित्र छ । यो असन्तुष्टि पूर्वराजा ज्ञानेन्द्र शाहकै हो वा निर्मल निवासका कर्मचारीहरुको मात्रै, त्यो चाहिँ स्पष्ट छैन । तर, थापालाई चुनौती दिन गठबन्धन बनाएका लिङ्देन र रााणाले पनि पूर्वराजासँगको सम्बन्ध थप निकट र सुमधुर बनाएका छन् ।

यसमध्ये लिङ्देनको गृहजिल्ला झापामा पूर्वराजा शाह स्वामित्वको ‘हिमालयन टी स्टेट गार्डेन’ छ । पूर्वराजा शाह प्रायः प्रत्येक हिउँदमा झापा पुगेर एक–डेढ महिना बिताउने गर्छन् । उता, राणाको गृह जिल्ला बाँकेमा पूर्वराजाको स्वामित्वको होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ छ र पश्चिम नेपालको भ्रमणको क्रममा उनले आफ्नो मुकाम यही होटललाई बनाउने गरेका छन् । त्यसैले, झापा जाँदा होस् वा नेपालगन्ज, पूर्वराजासँग लिङ्देन र डा.राणाको भेटघाट हुनु स्वभाविक हो ।

दुई वर्षअघि गोरखपुर जाने सिलसिलामा पूर्वराजा शाह नेपालगन्ज पुग्दा मेयर डा.राणाले ‘रिसिभ’ गरेका थिए । राजतन्त्र पुनर्स्थापनाको एजेन्डालाई व्यक्तिगत स्वार्थका लागि मोलमोलाइको विषय बनाएको आरोप खेपिरहेका थापालाई अध्यक्षमा लिङ्देन वा राणाले चुनौती दिने भएपछि राजतन्त्र पुनःस्थापना पक्षधरहरुको समर्थन यही गठबन्धनले पाउने सम्भावना ज्यादा छ । ‘अध्यक्षद्वय पशुपति शमशेर र डा.लोहनीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने–नगर्ने अहिलेसम्म प्रष्ट छैन,’ राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘लिङ्देन र राणले मिलेर नेतृत्वका लागि प्रतिस्पर्धा गरे भने अध्यक्ष थापालाई दह्रो चुनौती दिन सक्छन् ।’

लिङ्देन–राणाका चुनौती

दल र नेताहरुको सत्ताकेन्द्रित चरित्रका कारण गणतन्त्रप्रति जनतामा वितृष्णा र आक्रोश बढ्दो छ । राजतन्त्र समर्थकहरु हौसिएका छन् । परिस्थिति सकारात्मक बन्दै गएको देखेर होला, पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्रलाई प्रजातन्त्रको पुरकको रुपमा व्याख्या गरिसकेका छन् । अर्काेतिर पुरानो पुस्तालाई नयाँ पुस्ताले विस्थापित गरी पार्टीको नेतृत्व लिनुपर्ने माग सर्वत्र बढ्दो छ । पूर्वराजा शाहसँग बढ्दो निकटता र पार्टी नेतृत्व नयाँ पुस्तामा जानुपर्ने मागका कारण डा.राणा र लिङ्देनप्रति राप्रपामा चासो र समर्थन बढ्न थालेको छ । तर, अध्यक्ष थापा पनि पार्टीभित्र कमजोर छैनन् ।

राणा र लोहनी थापाभन्दा पनि पुराना पुस्ताका नेता हुन् । राणा–लोहनीपछिको पुस्तामा थापा जत्तिको सबल र लोकप्रिय नेता अरु छैनन् । आफू हाराहारीका अन्य शीर्ष नेताहरुको समर्थन पनि अध्यक्ष थापालाई नै छ । ‘राणा–लिङ्देनले नेतृत्व गर्ने ‘नयाँ पुस्ता’ले पार्टीको नेतृत्व सम्हाल्दा पुरानो पुस्ताका अन्य नेताहरुको व्यवस्थापन अप्ठेरो हुनसक्छ,’ राप्रपा केन्द्रीय सचिवालय सदस्य भरत पाठक भन्छन्, ‘त्यसैले यो महाधिवेशनमा अरु जो–जसले प्रतिस्पर्धा गरे पनि थापालाई पराजित गर्न कठिन छ ।’

हुन पनि राप्रपाभित्र दीपक बोहोरा, बुद्धिमान तामाङ, विक्रम पाण्डे, निरन्जन थापा, टंक ढकाल, रोशन कार्की, तोरणबहादुर गुरुङजस्ता नेताहरु उमेर र अनुभवका आधारमा राणा र लिङ्देनभन्दा वरिष्ठ मानिन्छन् । समकालीन भए पनि अध्यक्ष थापाको नेतृत्वलाई उनीहरुले सहज रुपमा स्वीकार गरिरहेका छन् । ‘लिङ्देन र जबरालाई नेता मानेर जान दीपक बोहोरा, बुद्धिमान तामाङ जस्ता वरिष्ठ नेतालाई अप्ठेरो पर्न सक्छ,’ अध्यक्ष थापानिकट केन्द्रीय सदस्य राजाराम बर्ताैला भन्छन्, ‘सबल नेतृत्व र पुरानो पुस्तालाई पनि मिलाएर जानुपर्ने भएकाले अहिलेका लागि अध्यक्षमा थापाको विकल्प देखिन्न ।’

तर, लिङ्देन–राणा पक्षीय नेताहरु यो कुरा स्वीकार गर्न तयार छैनन् । उनीहरुका भनाइमा निरन्जन थापा, बुद्धिमान तामाङहरु अध्यक्ष थापाभन्दा वरिष्ठ भए पनि दुवैले थापाको नेतृत्व स्वीकार गरेको स्थितिमा लिङ्देन वा राणा महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए पनि स्वीकार गर्न अप्ठेरो मान्ने छैनन् । लामो समय राज्यसत्ता र पार्टी सत्ता (अध्यक्ष) रहेकाले थापा निश्चय पनि कमजोर अवश्य छैनन् । तर, नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ भन्ने नारा, राजतन्त्रको मागलाई उपप्रधानमन्त्री पदसँग साटेको आरोप लागिरहेको स्थितिमा निर्मल निवाससँग निकट नेताहरुको गठबन्धनले थापालाई अप्ठेरोमा पार्न थालिसकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार १३:१६