बाँके । आसपासमा बढेको झाडीका कारण वन्यजन्तुहरु ठोक्किन थालेपछि नेपालगन्ज विमानस्थल जोखिममा रहेको छ । विमानस्थलको धावनमार्गमा बढेको वन्यजन्तुको आतंकका कारण प्रायः जहाजले जोखिमपूर्ण उडान भर्दै आएका छन् । नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालय भने गम्भीर बन्न नसकेको छैन ।
विमानस्थलमा जहाजसँग वन्यजन्तु ठोक्किने घटना दोहोरिँदा विमान कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लिखित र मौखिकरूपमा पटकपटक ध्यानाकर्षण गराइसकेका छन् । तैपनि कार्यालयले विमानस्थल वरपर बढेको सुरक्षा लापर्बाहीलाई सुधार गर्न सकेको छैन । जसका कारण वन्यजन्तुको आतंक दिनप्रतिदिन बढिरहेको छ ।
धावन मार्गसम्मै झाडी र जंगलमात्रै रहेकाले झण्डै १० दिनमा कुनै न कुनै जहाजसँग वन्यजन्तु ठोक्किरहेको विमान कम्पनीका एक कर्मचारीले जानकारी दिए । उनले भने, ‘नेपालगन्ज विमानस्थलको सुरक्षामा धेरै नै लापर्बाही छ । बेलाबेलामा झाडी र जंगल सफाइ गर्नुपर्ने हो तर नागरिक उड्डयन प्राधिकरणले मतलव नै गर्दैन ।’
नागरिक उड्डयन प्राधिकरणले झाडी तथा बुट्यान सरसफाईमा चासो नखाइरहेकै बेला अन्य निकायहरुले भने सरसफाई थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरुको नेतृत्वमा विमानस्थल परिसरभित्र झाडी तथा बुट्यानहरु सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट आफ्नै कमाण्डमा ३० जना, शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरिक्षक नवराज शाहीको कमाण्डमा ४० जना र नेपाली सेनाको प्रमुख सेनानी जनमत कार्कीको कमाण्डमा ९० जना गरी जम्मा १६० जनाको संयुक्त टोलीले विमानस्थल परिसरमा रहेका झाडी तथा बुट्यानहरु सरसफाई गरेको छ ।
‘झाडी तथा बुट्यानहरुमा वन्यजन्तुले बासस्थान बनाएर विमानमा ठोक्किन थालेपछि सरसफाई अभियान थालेका हौं,’ प्रहरी उपरीक्षक अधिकारीले भने । मंगलबार मात्रै नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेलका पाठा एकै पटक ठोकिएर मरेका थिए ।
धावनमार्गमा बँदेलको मासु छरिएका कारण बिहान करिब डेढ घण्टा विमानस्थल बन्द गरिएकोे थियो । केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो । जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो । उक्त घटना भने सार्वजनिक भएन । गत वर्ष पनि बुद्ध एयर र यति एयरकै जहाजसँग धावनमार्गमा बँदेल ठोक्किएर मरेको थियो ।
नेपालगन्ज विमानस्थलको सुरक्षा लापर्बाहीले गर्दा पटकपटक यस्ता जोखिमको बेहोर्नुपरिरहेको छ । विमानस्थलको हाल १७ सय मिटर लामो धावनमार्ग छ । वन्यजन्तुकै कारण नेपालगन्ज बिमानस्थल उच्च जोखिममा देखिएको छ । विमानस्थल कार्यालयको गैरजिम्मेवारीपनाका कारण विमानमा सधैंजसो वन्यजन्तु ठोक्किरहन्छन् । यसतर्फ विमानस्थल कार्यालयले सुरक्षा संवेदशनीलतामा रत्तिभर चासो देखाएको छैन ।
धावनमार्ग वरिपरि बाक्लो मात्रामा झाडी र बुट्यान छन् । त्यहाँ बँदेल, खरायो, निलगाई, दुम्सी, स्याल लगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन् । विमानस्थलबाट नेपालगन्ज–काठमाडौं रुटमा मात्र दैनिक आधा दर्जनभन्दा बढी उडान हुन्छन् । यसका साथै पहाडी तथा हिमाली जिल्लामा पनि दैनिकरूपमा दर्जनौं उडान हुन्छन् । तर, विमानस्थलको धावनमार्गमा बढेको वन्यजन्तुको आतंकका कारण प्रायः जहाजले जोखिमपूर्ण उडान भर्नुपरेको छ ।
।