सूचनाको शक्ति - The Power Of Information

        

रैथाने धानबाली संरक्षण गर्दै खाद्य बैङ्क

बर्दिया । रैथाने धानबालीको प्रवद्र्धन तथा संरक्षण गर्न राष्ट्रिय खाद्य बैङ्क लिमिटेडले रैथाने जातको धान खेती विस्तार गर्ने भएको छ । कृषि क्षेत्रमा आधुनिक प्रणालीलाई आधार बनाएर रैथाने जातको धान खेती विस्तार गर्ने योजनाअनुरूप राष्ट्रिय खाद्य बैङ्क लिमिटेडले पहिलो चरणमा २५ बिघा क्षेत्रफलमा आठ किसिमका रैथाने जातका धानको बीउ रोपिएको छ ।

२२ जिल्लामा माटो परीक्षण गरेर आधुनिक खेती गरिरहेको खाद्य बैङ्कले गुलरियामा पनि रैथाने धान खेती विस्तार गरेको हो । खाद्य बैङ्क लिमिटेडका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले पाइलट प्रोजेक्टका रूपमा अहिले गुलरियामा २५ बिघा क्षेत्रफलमा रैथाने जातको धान खेती गरिएको बताए ।

उप्रेतीले कृषि उपजमा आत्मनिर्भर बन्न कृषकसँग मिलेर काम गरिरहेको र यसबाट मुलुकको आर्थिक क्षेत्रमा टेवा पुग्ने दाबी गरे । २५ बिघा क्षेत्रफलमा लगाइएको धानको उत्पादन हेरेर क्षेत्रफल विस्तार गरी दुई बिघा पुर्याउने अध्यक्ष उप्रेतीको भनाइ छ । खाद्य बैङ्कले रैथाने जातको बालीको परीक्षणपछि छरिएका किसानलाई एकीकृत गरेर योजनाबद्ध तरिकाले अघि बढ्ने विज्ञ डा. मोहन पन्थीले बताए ।

किसानलाई बीउ उपलब्ध गराएर उब्जनीसमेत गर्ने बैङ्कको योजना रहेको उनले डा. पन्थीले जानकारी दिए । अहिले चक्लाबन्दी गरेर खेती गर्छौं भन्ने विषय असम्भवजस्तै रहेको बताउँदै पन्थीले भने, ‘किसानलाई बैङ्कको संरचनाभित्र ल्याएर बीउबिजन उपलब्ध गराएर खरिद केन्द्रका रूपमा बैङ्कले काम गर्छ ।’ बर्दियाको गुलरियास्थित खैरीमा कार्यालय स्थापना गरेर सञ्चालन गर्दै आएको बैङ्कले नमुनाका रूपमा हाँसपालन पनि गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार ०८:१५