सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री देउवा र मोदीबीच बेलायतमा साइड लाइन वार्ता

‘नेपालगन्ज र महेन्द्रनगर नाकाबाट हवाई प्रवेश बिन्दु खुलाउन भारत सकारात्मक’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार बिहान भएको भेटका क्रममा हवाई प्रवेश विन्दुदेखि रासायनिक मलसम्मका मुद्दा उठाएका छन् ।

कोप–२६ सम्मेलनस्थल बेलायतको ग्लास्गोमा भएको साइड लाइन वार्ताका क्रममा देउवाले थप दुई नाकाबाट हवाई प्रवेश बिन्दु खुलाउन, रासायनिक मल आपूर्तिलाई नियमित गराउन र कोभिड नियन्त्रणका लागि भइरहेको सहयोगलाई निरन्तरा दिन मोदीसँग आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले दिएको जानकारी अनुसार देउवाले मोदीसँग नेपालगन्ज र महेन्द्रनगर नाकाबाट हवाई प्रवेश बिन्दु खुलाइदिन आग्रह गरेका छन् । नेपालले यसअघि पनि यी दुई नाकाबाट हवाई प्रवेश विन्दु खुलाइदिन भारतसँग पटक पटक आग्रह गरिसकेको छ ।

‘यसबारेमा नेपालले पहिले पनि भारतलाई अनुरोध गरिरहेको छ,’ पौडेलले भने, ‘नेपालगन्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दु खुलाउनुपर्ने कुरा भेटमा प्रधानमन्त्रीले उठाउनुभयो । त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले तपाईंहरुको आवश्यकता र खाँचोलाई सकारात्मक रुपमा हेरेर सम्बोधन गर्छौँ भन्नुभएको छ ।’

देउवाले नेपालमा रासायनिक मलको समस्यालाई ख्याल गरेर सहयोग बढाइदिन पनि आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीले नेपालको अवस्थालाई हेरेर रासायनिक मलको आपूर्ति निरन्तर रहोस् भन्ने आग्रह गर्नु भएको छ’, पौडेलले भने, ‘जवाफमा मोदीले यसबारेमा नेपालको आवश्यकतालाई आफ्नै ठानेर सहयोगको बचन दिनुभएको छ ।’

देउवाले भेटमा सहयोगको निरन्तरता खोजेको अर्को विषय थियो कोभिड–१९ नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीदेखि खोपको नियमित आपूर्ति । नेपालमा कोभिड–१९ नियन्त्रणमा भारतले गरिरहेको सहयोगलाई अझै निरन्तरता दिन पनि देउवाले आग्रह गरेको पौडेलले बताए ।

‘अझै पनि कोभिड–१९ को जोखिम कम भइसकेको छैन । यसमा हामीलाई छिमेकी राष्ट्रहरूको निरन्तर सहयोगको खाँचो छ । कोभिडविरुद्धको सहयोगलाई भारतबाट निरन्तरता हुने कुरा पनि प्रधानमन्त्रीले राख्नुभएको छ’, पौडेलले भने, ‘भारतबाट आएको खोप र मेडिकल उपकरण तथा अक्सिजनले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको अवस्थामा यो सहयोगलाई निरन्तर दिने कुरा मोदीले बताउनुभएको छ ।’

देउवाले भेटका क्रममा २०७२ को भूकम्पपछिको उद्धार र त्यसपछिको पुनःनिर्माणमा भारतले गरेको सहयोग पनि स्मरण गरेका थिए । भारतले नेपालको पूर्वाधार निर्माणमा भारतको सहयोगलाई निरन्तरता दिन पनि देउवाले मोदीलाई आग्रह गरेका छन् । पौडेलले दुई देशका प्रधानमन्त्रीबीच असमझदारीका विषय आपसी वार्ताबाट हल गरेर दुई देशबीचको सम्बन्ध अझै बलियो बनाउने विषयमा पनि कुरा भएको बताएका छन् ।

मोदीले नेपालसँगको निकट र सहयोगात्मक सम्बन्धलाई अझै अगाडि बनाउने कुरा पनि देउवासँग राखेका छन् । देउवाले उठाएका सबै विषयमा आफू सकारात्मक रहेको जवाफ मोदीले दिएका छन् । ‘तपाईंहरुको आवश्यकता र खाँचोलाई सकारात्मक रुपमा हेर्छौँ’, मोदीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘हामी यी कुरालाई सम्बोधन गर्दै जान्छौँ । आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै जान भारतले कुनै कमी हुन दिने छैन ।’

यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्विटरमार्फत दुई प्रधानमन्त्रीबीचको साइड लाइन वार्तामा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा कुरा भएको बताएका छन् । ‘दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने, जलवायु परिवर्तन, कोभिड–१९ महामारीको प्रभाव कम गर्न तथा महामारीपछिको पुनरुत्थानका लागि सहकार्य गर्नेबारे छलफल भएको छ,’ बाग्चीले भनेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार ०८:०३