बाँके । हुम्लाको सिमिकोटका लागि उडान भर्दै गरेको सीता एयरको जहाज नेपालगन्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको थियो ।
उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक धावनमार्गमा आएका तीन वटा बँदेलका पाठासँग जहाज ठोक्किएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । जहाजसँग ठोक्किएका बँदेलका तीन वटै पाठा मरेका छन् ।
दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । विमानस्थल नजिकै डुडुवा खोला र जंगल भएकाले बँदेल विमानस्थलमा आउने गरेको स्थानीयको भनाइ छ । प्रहरी नायव उपरीक्षक न्यौपानेले दुर्घटनामा मानवीय क्षति नभएको र सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताए ।
जहाजमा १४ यात्रु र तीन चालकदलका सदस्यसहित १७ जना र कार्गो बोकेको सो जहाजमा बदेलका पाठा ठोक्किँदा अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल पर्नुको साथै नोजल गरिएर भाँचिएको छ । धावनमार्गबाट जहाज हटाएर ह्याङ्गरमा पुराई विमानस्थल सञ्चालन भइसकेको प्रहरीले जनाएको छ ।
।