सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा, जीवन शाही नयाँ मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ राजीनामा दिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा घोषणा गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको सहमति अनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएर नयाँ सरकारको ढोका खोलिदिएका हुन् ।

केही दिन अघिसम्म पद नछाड्ने बताएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि राजीनामा दिएका हुन् । मुख्यमन्त्री शाहीले राजीनामा दिएसँगै पूर्व सहमति अनुसार अब कर्णालीमा नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्नेछन् ।

तत्कालीन नेकपा खारेजीमा परेर माओवादी केन्द्र ब्यूँतिएपछि शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए । शाहीलाई मुख्यमन्त्रीमा टिकाउन त्यसबेला माओवादीले कांग्रेससँग ६/६ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो । कांग्रेस–माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो ।

त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो । उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाही बाहिरिएका हुन् । मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए । राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले अपरान्ह क्याबिनेट बैठक राखेका थिए ।

तीन मन्त्री पनि गए

अर्कातिर शाही मन्त्रिपरिषद्का ३ मन्त्रीको समेत पदावधि सकिएको छ । एमालेका तत्कालीन सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा ‘फ्लोर क्रस’ गरेपछि एमालेको कारबाहीमा परेका थिए । गत वैशाख ३ ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका तत्कालीन तीन सांसदहरुको पद गएको थियो ।

उनीहरू प्रदेशसभा सदस्य नरहेका कारण कात्तिक १५ देखि सरकारबाट बिदा हुनुपर्ने थियो । ज्वालाबाहेक अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, कुर्मराज शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए । शाहीलाई मुख्यमन्त्रीबाट राजीनामा नगराउन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रयास गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १९:२३