काठमाडौं । प्रदेश–१ सरकारको मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएपछि एमाले संघदेखि प्रदेशसम्म प्रतिपक्षी भूमिकामा पुगेको छ । मुख्यमन्त्री नियुक्त भएदेखि नै अल्पमतमा रहेका आचार्यले आज प्रदेश सभालाई सम्बोधन गरी राजीनामा दिएका हुन् । नेकपा एमाले संघीय संसद्को सबैभन्दा ठूलो दल हो ।
स्थानीय तहमा पनि पनि एमाले सबैभन्दा ठूलो राजनीतिक दल हो । तर, अब प्रदेश र संघ कहीँ पनि एमाले नेतृत्वको सरकार बाँकी रहेन । २०७४ को निर्वाचनपछि राजनीतिक वर्चस्व उँचो बनाएको एमालेको आरोलो यात्रा पनि उत्तिकै चाँडो शुरू भयो । विशेषगरी, २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटन गरेपछि एमाले सत्ताबाट ओर्लिने क्रम शुरू भएको हो ।
२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएका थिए । त्यसबेला निर्वाचनपछि दुई पार्टी एकीकरण गर्ने एजेण्डा लिएर चुनावमा गएका थिए । मतदाताले दुई पार्टी एकीकरण गर्ने एजेण्डा अनुमोदन गरिदिए । संघीय प्रतिनिधि सभामा दुई पार्टीको गरी १७१ स्थानमा जीत हासिल भयो । संघीय सरकार एमाले र माओवादीले बनाए ।
चुनावमा गरेको प्रतिबद्धता अनुसार नै २०७५ जेठ ३ मा पार्टी एकीकरण गरेर एउटै पार्टी नेकपा बनाए । एउटै पार्टीको शक्तिशाली सरकार बन्यो । सरकारमा तत्कालीन संघीय समाजवादी (उपेन्द्र यादव नेतृत्वको) पनि सहभागी भयो । दुईतिहाइ बुहमतको सरकार बन्यो । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि अनुकूल राजनीतिक वातावरण बनेको थियो ।
सातमध्ये ६ प्रदेशमा नेकपाको नेतृत्वमा सरकार थियो । त्यसमा पनि एमाले पृष्ठभूमिका नेता मात्रै चारवटा प्रदेशको सरकार प्रमुख थिए । बागमती र प्रदेश–१ मा एमालेको एकल बहुमतको सरकार थियो । तर, एमालेको सत्ता राजनीतिको यो शिखर तीन वर्षमै गर्ल्यामगुर्लुम ढलेको छ । केन्द्रदेखि प्रदेशसम्म एमाले प्रतिपक्षको हैसियतमा पुगेको छ ।
नेकपाभित्र आएको विवाद व्यवस्थापन गर्न नसक्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा संघीय संसद् विघटन गरेर निर्वाचनको घोषणा गरेका थिए । संसद् विघटनका कारण सत्तारूढ नेकपामा विभाजन आयो । प्रधानमन्त्री ओली खेमा विघटनको पक्षमा र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल खेमा विघटनको विपक्षमा देखिए ।
ओलीले प्रतिगमन गरेको आरोप सहित प्रचण्ड–नेपाल पक्ष सडक आन्दोलनमा उत्रियो । २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाको कारण नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रको रूपमा ब्युँतियो । संसद् विघटनका कारण नेकपामा आएको विभाजन एमालेमा स¥यो । ओली र नेपाल बीचमा खटपट कामय रह्यो ।
यसपछि भने एमालेले राजनीतिक सफलताले आरोलो यात्रा समात्यो । सबैभन्दा पहिले गण्डकी प्रदेशबाट पृथ्वी सुब्बा गुरूङ प्रदेश सरकारको नेतृत्वबाट बाहिरिए । लुम्बिनी प्रदेशमा शंकर पोखरेलले अनेक प्रयास गर्दा पनि सत्ता टिकाउन सकेनन् । बागमती प्रदेशमा एमालेको एकल बहुमत थियो । एमालेमा विभाजन आएसँगै बहुमत गुम्यो ।
माधव नेपाल खेमामा रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर सरकार जोगाउने प्रयास ७१ दिनसम्म मात्रै टिक्यो । प्रदेश–१ मा पनि शेरधन राईलाई सरकारबाट हटाएर माधव नेपाल–झलनाथ खनाल पक्षमा रहेका भीम आचार्यलाई एमालेले मुख्यमन्त्री बनायो । उनले पनि सत्ता जोगाउन सकेनन् र ६९ दिन आचार्य सरकारको नेतृत्वबाट बाहिरिए ।
एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीले दुईवटा प्रदेशको सरकारको नेतृत्व गर्न सफल भएको छ । बागमती प्रदेशमा उक्त पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् भने प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार बनेको छ । निर्वाचन यताको करीब साढे ३ वर्षको बीचमा एमालेले सत्ता राजनीतिको सफलता सम्पूर्ण रूपमा गुमाएको छ ।
।