सूचनाको शक्ति - The Power Of Information

        

अछाममा ५० हजार ६०० ले लगाए कोरोनाको पूर्ण मात्रा खोप

अछाम । अछाममा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ५० हजार ६०० पुगेको छ । गत वर्षको १४ माघदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा खोप अभियान चलिरहेको छ ।

अछाममा एष्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र कोभिसिल्ड गरी तीन प्रकारको खोप लगाइएको छ । जसमा जोन्सनको पूर्ण मात्रा खोप लगाउनेको संख्या १२ हजार ४८५ छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको थियो । दोस्रो चरणमा अग्रभागमा टेर सेवा प्रवाह गर्दै आएका सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती

कर्मचारी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाइकर्मी लगायतको क्षेत्रमा कार्यरतलाई लगाइएको थियो । तेस्रो चरणमा सबै ज्येष्ठ नागरिक सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई लगाइएको थियो ।

जिल्लामा अहिले पनि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । आजबाट अछाममा कोभिसिल्ड तथा एष्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाउन सुरु भएको छ । कोभिड–१९ विरुद्धको पहिले भेरोसिल खोपको पहिलो मात्रा लगाएका ४० वर्षमाथिका आमनागरिक तथा १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउन थालिएको हो ।

कोभिसिल्ड तथा एष्ट्राजेनेका पहिलो मात्रा लगाई दोस्रो मात्रा नपाएका आमनागरिकलाई भोलिसम्म खोप अभियान सञ्चालन भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिए । दुई दिनको अवधिमा ११ हजार देखि १५ हजार नागरिकलाई भेरोसेल र चार हजार २०० जनालाई कोभिसिल्ड खोप लगाउने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १४:५१