सूचनाको शक्ति - The Power Of Information

        

३७ दशमलव १४ प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव १४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड चार लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ९८ प्रतिशत र सञ्चालन नाफा २१ दशमलव ९७ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार आएको हो । बैंकको कमिशन आम्दानी ४९ दशमलव ९१ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा नेपाल बैंक लिमिटेडको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष चार दशमलव ६६ प्रतिशत बढेको नेपाल बैंक लिमिटेडले जनाएको छ । बैंकको निक्षेप छ दशमलव ३२ प्रतिशत बढेको छ भने कर्जा नौ दशमलव ३९ प्रतिशत बढेको छ ।

त्यसैगरी, नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट चार रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा झरेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव २६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १०:३५