सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

६७ दिनमै प्रदेश १ का मुख्यमन्त्रीको बर्हिगमन

झापा । पार्टी विभाजनताका मुख्यमन्त्रीका लागि एमालेमै रहेका भीम आचार्य आज प्रदेश १ को प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । ६७ दिन प्रदेश १ का मुख्यमन्त्री बनेका आचार्यले आज मध्याह्न १२ बजे विश्वासको मत लिने कार्यसूची छ । मुख्यमन्त्री आचार्यले १० भदौमा सपथ लिएका थिए । तर, उनले सपथ लिनुअघि नै नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनिसकेको थियो ।

प्रदेशसभामा भने २२ भदौमा नेकपा एमाले आधिकारिकरूपमा फुटेको हो । प्रदेश १ मा एकल बहुमतमा रहेको एमाले फुटेपछि मुख्मन्त्री आचार्य अल्पमतमा परेका थिए । प्रदेश १ प्रदेशसभामा ९२ सदस्य छन् । जसमध्ये विगतमा ५१ जना प्रदेशसभा सदस्य एमालेमा थिए । तर, १० जना सांसदले नेकपा (एस) रोजेपछि एमालेमा ४१ सांसद रहे । एक जना सभामुख भएका कारण उनले मत हाल्न पाउँदैनन् ।

संविधानको धारा १६८ अनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । प्रदेशमा दल फुटेको मिति अर्थात २२ भदौलाई माने पनि त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो । २२ असोजमा संसद् बोलाए पनि मुख्यमन्त्री आचार्यले पेलेरै विश्वासको मत लिएनन् । मुख्यमन्त्री आचार्यले ५ कात्तिकमा विश्वासको मतका लागि प्रस्ताव संसद्मा पेस गरे ।

संसद् सचिवालयले ७ कात्तिकमा विश्वासको मत लिने कार्यसूची तय गरेको थियो । तर, कांग्रेसले लिखित रूपमा संसद् रोक्न आग्रह गरेपछि १५ कात्तिक अर्थात आज सोमबारलाई राखिएको थियो । ‘अस्ती केही प्राविधिक समस्याले गर्दा विश्वासको मत लिने समय सार्नुपर्ने अवस्था आयो,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले भने, ‘कतिपय भन्न नमिल्ने प्राविधिक समस्या थिए । लगभग समाधान भयो । आज मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा मत हालिन्छ ।’

गठबन्धनले अविश्वासको मत हालेपछि भावी मुख्यमन्त्रीको रूपमा नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राईलाई अघि सार्ने उनले बताए । अघिल्लो पटक कांग्रेसले आधा–आधा सरकार चलाउने आकांक्षा देखाएपछि संसद् बैठक सार्नुपर्ने अवस्था आएको नेकपा (एस) संसदीय दलका नेता राईले बताए । ‘कांग्रेसले आधा–आधा सरकार चलाउने प्रस्ताव ल्याएपछि अस्ति बैठक सार्नुपर्ने बाध्यता आयो । तर, अब यो समस्या समाधान भइसकेको छ,’ उनले भने, ‘आधा–आधा चलाउने विषय पार्टी केन्द्रमा आ–आफ्नो नेतालाई राख्ने सहमति भएको छ । यो यहाँबाट टुंगिने विषय हैन ।’

प्रदेश १ मा ९२ सांसदमध्ये ४१ एमाले पक्षमा छन् । त्यसमेध्ये पनि एक जना सभामुख छन् । ९२ सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद चाहिन्छ । कांग्रेस २१, माओवादी १५, नेकपा (एस) १०, जसपा ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक गरी ५० जना सांसद विपक्षी गठबन्धनमा छन् । राप्रपाका एक सांसद छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने लगभग निश्चित छ । उनी आजको संसद् बैठकपछि सत्ताबाट बाहिरिने निश्चित छ । उनी प्रदेशसभा फेस गर्छन् वा त्यसअघि नै राजीनामा दिन्छन् यकीन भइसकेको छैन ।

तर आचार्य यस विषयमा बिहानैदेखि नेताहरुसँग छलफलमा छन् । मुख्यमन्त्री आचार्यले संविधानविपरीत २६ दिन सरकार चलाए । १६ दिन आफ्नै कारण र आठ दिन कांग्रेसका कारण सत्ता चलाउने मौका पाए । ‘आज हामी विश्वासको मतका लागि हरसम्भव प्रयास गर्नेछौँ । तर, विपक्षी गठबन्धन पनि विपक्षमा मत हाल्न तयार छ,’ एमाले सांसद हिकमत कार्कीले भने, ‘अस्तिको पटक कांग्रेसले गर्दा नै सत्ता लम्बिएको हो । कांग्रेसका सांसद्ले विश्वासको मतको पक्षमा मत हाल्ने भएपछि संसद् सार्न लगाइएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १०:२८