सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका तीन मन्त्री आजैदेखि पदमुक्त, नेकपा (एस)बाटै तीन जना पठाइने

काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुने भएका छन् । उनीहरु तीनै जना गैरसांसद भएकाले पदमुक्त हुन लागेका हुन् । नेकपा एमालेमै रहँदा फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सांसद पदबाट पदमुक्त भएका उनीहरु आजै मन्त्रीबाट पदमुक्त हुनेछन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुन लागेका हुन् । गैरसांसद छ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था छ ।

एमाले विभाजन भएपछि तीनै जना नेकपा (एकीकृत समाजवादी)मा छन् । समाजवादीकी सांसद देवी ओलीले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्रीको पदमुक्त भए पनि सोही ठाउँमा फेरि तिनै जना पठाइने बताइन् । अहिले कर्णाली प्रदेश सभामा समाजवादीका तीन जना सांसद मात्रै रहेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १०:०१