सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ मा विश्वासको मत लिँदै आचार्य, चौँथो मुख्यमन्त्री गुमाउँदै एमाले

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि आज मत विभाजन हुदैछ । आज दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको मत विभाजन हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सोमबारको बैठकको विषयमा कार्यसूची तय भइसकेको बताएका छन् ।

उनले कार्यव्यवस्था नबस्ने बरु सदनको कारबाही सुरु हुने पनि बताएका छन् । यसैबीच विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बस्ने प्रदेशसभा बैठक अघि आइतबार विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता सहभागी थिए । ९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठबन्धनमा ५० सांसद रहेका छन् ।

जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कुनै पक्षमा देखिएका छैनन् । नेकपा विभाजित भएपछि नेकपा एमालेले तीन वटा मुख्यमन्त्री गुमाइ सकेको छ । गण्डकी, लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्री गुमाएको एमालेले प्रदेश १ को सरकार पनि गुमाउने प्राय निश्चित छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ०८:५२