सूचनाको शक्ति - The Power Of Information

        

बचत रकममै हिनामिना

हुलाक बचत बैंकबाटै पाँच करोड ७८ लाख रुपैयाँ गुमाउँदै बचतकर्ता

बझाङ । आर्थिक वर्ष २०७०/०७१ मा जिल्ला हुलाक कार्यालय बझाङले हुलाक बचत बैंक सेवा सुरु गरेसँगै बचतकर्ताको भीड लाग्न थाल्यो । तत्कालिन समयमा जिल्लामा कृषि विकास बैक र राष्ट्रिय वाणिज्यबाहेक अन्य बैकहरु नभएको र आकर्षक ब्याज पाउने भएपछि वचतकर्ताहरु हुलाक बचत बैंकतर्फ आकर्षित भएका थिए ।

सेवा सुचारु भएसँगै बचतकर्ताहरुको भीड लाग्न थालेपछि तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायको नजर बचतकर्ताको बचत रकममा पर्न थाल्यो । आकर्षक व्याजसहित कारोवारमा सहयोग पुग्ने आशले बचतकर्ताले बचत रकम जम्मा गर्दै आएका थिए ।

बचतकर्ताले जम्मा गर्दै आएको बचत रकम दुबै जना मिलेर कार्यालयको बचत किताबमा जम्मा गरेको देखाउने तर रकम आफैं चलाउने गरेका कारण रकम हिनामिना भएको देखिएको छ । हुलाक बचत बैंकमा रकम बचत गर्दै आएका एक हजार ७०१ जना बचतकर्ताको पाँच करोड ७८ लाख ६४ हजार रुपैयाँ गुमाउनुपर्ने अवस्था आएको छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख तथा केहि कर्मचारीको मिलोमतोमा बैङ्कमा बचत गरेको करिब ५ करोड रुपैयाँ हिनामिना भएपछि अख्तियारमा समेत मुद्दा परेको थियो । अख्तियारमा उजुरी परेपछि तत्कालिन हुलाकका कार्यालय प्रमुख रणबहादुर कठायत र खरिदार शिवराज उपाध्यायमाथि प्रारम्भीक छानबिनमा थाल्यो ।

तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले हुलाक कार्यालयका प्रमुख र खरिदार दुबै जनाले बचतकर्ताको जम्मा रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने ठाउँमा रकम अपचलन गरी उल्टै घाटा देखाएकोले व्यापक अनियमितता भएको प्रतिवेदन अख्तियारलाई बुझाउँदै थप छानबिन गरी कारबाहीे अघि बढाउन पत्र पठाएको थियो ।

प्रतिवेदनका आधारमा अख्तियारको टोलीले दुबै जनाले बचतकर्ताकोे ४ करोड ९५ लाख अनियमितता गरेको ठहर गरी कार्यालय प्रमुख रणबहादुर कठायत र खरिदार शिवराज उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएपछि विशेष अदालतले २०७६ माघ २४ मा दुबै जनालाई नियन्त्रणमा लियो ।

तर अदालतले एक महिना नपुग्दै २०७६ फागुन १२ गते तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख धरौटी लिएर रिहा गरेको थियो । त्यसयता बचतकर्ताहरुले हुलाक बचत बैंकमा जम्मा गरेको बचत रकमको सावाँ र ब्याज हालसम्म पाउन सकेका छैनन् ।

बचतकर्ताहरुले हुलाक बचत बैंकमा जम्मा गरेको रकम पाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलन समेत थालेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका बचतकर्ताहरुले नारा जुलुससहित जिल्ला हुलाक कार्यालयमा धर्ना दिइरहेका छन् ।

हुलाक बचत बैङ्कमा आफुले बचत गरेको रकम दुई बर्षदेखि नपाएको भन्दै बचतकर्ताहरुले हुलाक बचत बैंकमा जम्मा गरेको रकम तत्काल भुक्तानी गर्न माग गर्दै धर्ना दिइरहेका छन् । आफुहरुले बचत गरेको रकम भुक्तानी गरिदिन माग गर्दै धर्ना कार्यक्रम गरिरहेको संघर्ष समितिका संयोजक खडकबहादुर बोहराले बताए ।

बचतकर्ताहरुले हुलाक बचत बैंकको कारोबार सुचारु गर्नुपर्ने, आफुहरुको बचत गरेको रकम फिर्ता पाउनुपर्ने लगायतका माग राख्दै धर्ना दिएका हुन् । पहिलो चरणमा ज्ञापन पत्र र नारा जुलुससहित धर्ना कार्यक्रम मात्रै गरेको र माग सम्बोधन नभए हुलाक कार्यालयमा तालाबन्दी लगायतका कडा संघर्षका कार्यक्रमहरु गर्ने समितिका संयोजक बोहराले बताए ।

जिल्ला हुलाक कार्यालयका निमित कार्यालय प्रमुख राजेन्द्रबहादुर खड्काले आफुहरुले माथिल्लो निकायलाई बेलाबेला जानकारी गराए पनि कुनै चासो नदिने गरेको र आफुले धर्ना दिएको कुरा माथिल्लो निकायलाई सुनाउने काम मात्रै हुने बताए । बचतकर्ताले कार्यालयमा धर्ना दिनुका साथै कार्यालयका सबै कामहरु बन्द गराएका छन् ।

कार्यालयबाट हुने नियमित कामकाज बन्द हुँदा गाउँबाट नागरिकता बनाउन सदरमुकाम चैनपुर पुगेका स्थानीयलाई नागरिकता सिफारिसमा टाँस गर्ने हुलाक टिकट नपाएर नागरिकता बनाउनसमेत समस्या भएको नागरिकता बनाउन सदरमुकाम चैनपुर पुगेका जयपृथ्वी नगरपालिका–१ का गणेश शाहीले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ०७:५६