सूचनाको शक्ति - The Power Of Information

        

दुई बर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू

बाँके । दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा हिजो आइतवारबाट पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि रोकिएको बस सेवा कोरोना संक्रमण दर क्रमशः घट्दै गएकाले नेपालगन्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि पुनः सुरु हुने भएको हो ।

भेरी यातायात प्रालिले नेपाली नम्बरको बस नेपालगन्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि पुनः सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जनाकारी दिए । दुईवर्ष अघि सञ्चालनमा ल्याएको सो बस सेवा बन्द गर्नु पर्दा व्यवसायीलाई ठूलो नोक्सानी भएको अध्यक्ष गिरीले बताए ।

उनले यसबीचमा टुर्स ट्राभल्सका नाममा टिकट काटेर नेपालीलाई अलपत्र पार्ने गिरोहका कारण भारतका विभिन्न सहर जाने यात्रीलाई मैत्री बसले भरपर्दो र सुरक्षित सेवा दिने दाबी गरे । कोरोना संक्रमण घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरि सो बस सेवा सुरु गर्न लागिएको उनले बताए ।

अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालगन्जबाट बस छुट्ने र लखनउबाट नेपालगन्जका लागि राती ८ बजे छुट्ने छ । यसैगरि दिल्लीका लागि साँझ ५ बजे नेपालगन्जबाट छुट्ने र दिल्लीबाट नेपालगन्जका लागि पनि साँझ ५ बजे नै बस छुट्ने छ ।

यस्तै, हरिद्वारका लागि नेपालगन्जबाट राती ८ बजे बस छुट्ने र हरिद्धारबाट नेपालगन्जका लागि अपरान्ह ४ बजे बस छुट्ने छ । लामो समयदेखि रोकिएको सो बस सेवा फेरि सुचारु भएपछि दिल्ली, लखनउ र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ ।

रुपैडिहाबाट हरिद्वार र दिल्ली जाने नेपाली धेरै ठाउँमा ठगिने गरेकोले पनि नेपाल–भारत मैत्री बस सेवाबाट ती ठाउँको यात्रा सुरक्षित र सहज हुने भेरी यातायात प्रालिले जनाएको छ । बस सेवा सुरु भएपछि दुबै देशबीच व्यापार व्यवसाय समेत बढ्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

उनले भने, ‘कोरोनाले थलिएको यातायात व्यवसायलाई मैत्री बस पुनः सञ्चालन हुँदा व्यवसायमा ठूलो प्रभाव पार्ने छ ।’ उनले यस सेवाले रुग्ण अवस्थामा रहेको व्यावसाय पुनः सञ्चालन हुने र गति लिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ०७:०८