सूचनाको शक्ति - The Power Of Information

        

हत्यामा संलग्न किशोरलाई जन्मकैदको सजाय

सल्यान । यहाँको त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्यामा संलग्नलाई सल्यान जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले बोहराको हत्यामा संलग्न १६ वर्षीय किशोरलाई जन्मकैदको फैसला सुनाएको हो ।

कविताको दिदीको छोरा नाता पर्ने ती किशोरले कवितालाई एकतर्फी प्रेम गरी पटकपटक प्रेम प्रस्ताव गर्दा कविताले कुनै चासो नदिएपछि हत्या गरेको बयानका आधारमा जन्मकैदको फैसला सुनाएको अदालतले जनाएको छ । अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद ठहर गरिएको बताए । उनका अनुसार १२ वर्ष ६ महिना कैद सजाय हुनेछ ।

हत्या गर्ने किशोर भएकाले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ३६ (३) बमोजिम आधा कैद छुट गरिएको छ । साथै प्रतिवादीबाट मृतकको परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि फैसला सुनाएको छ । २०७६ साल फागुन २ गते राति कविता गोठ नजिकको भकारोको डिलमा मोबाइलमा फोन गर्दै गरेको अवस्थामा १६ वर्षीय किशोरले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतवार ०९:१९