सूचनाको शक्ति - The Power Of Information

        

अपराध

ब्राउनसुगर लिन हेटौंडाबाट रुपैडिहासम्म, ओसारपसारको ‘ट्रान्जिट’ जमुनाहा

बाँके । प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर)सहित जमुनाहा नाकाबाट एकजनालाई नियन्त्रणमा लियो । ती व्यक्ति लागूऔषध लिन मकवानपुरको हेटौंडाबाट नेपालगन्ज हुँदै छिमेकी भारतको रुपैडिहा गएर आएका थिए । उनले रुपैडिहाबाट खैरो हेरोइनसमेत आफ्नो साथमा ल्याएका थिए ।

उनी रुपैडिहाबाट खैरो हेरोइन लिएर निर्धक्क जमुनाहा नाका भएर नेपाल प्रवेश गर्दै थिए । काभ्रेको महादेवस्थान घर भई हाल मकवानपुर बस्दै आएका मानबहादुर रोकालाई बाँके प्रहरीले १५.६ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो । उनी लागूऔषध खैरो हेरोइन लिनकै लागि हेटौंडाबाट नेपालगन्ज हुँदै रुपैडिहा आएको पाइएको बाँके प्रहरी बताउँछ ।

रुपैडिया नेपालगन्जको सीमावर्ती भारतीय बजार हो । जमुनाहा नाका भएर नेपालगन्जतर्फ आउँदै गर्दा रोका रुपैडियाको चकियारोडबाट १५.६ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । यो घटनाले लागूऔषध ओसारपसारको लागि जमुनाहा नाका ट्रान्जिट प्वाइन्ट बनेको पुष्टि गरेको छ ।

उनले एक किलो स्याउसँगै आलु चिप्सको कभरभित्र ब्राउनसुगर राखेर ल्याएका थिए । रुपैडिहाबाट हिँड्दै नेपालगन्ज आउँदै गरेका रोकालाई प्रहरीले शंका लागेर जाँच गर्दा ब्राउनसुगर फेला परेको थियो । यसअघि लागूऔषध ब्राउनसुगर शरीर वा सवारीसाधनको कुनाकाप्चामा राखेर ल्याउने गरिन्थ्यो ।

तर रोकाले भने ढुक्कका साथ हातमा झुण्ड्याएर ल्याएका थिए । रोकाको तरिका हेर्दा उनी सिपालु कारोबारी रहेको प्रहरी बताउँछन् । रोकाले यसअघि पनि रुपैडिहाबाट लागूऔषध ब्राउनसुगर नेपालगन्ज भित्र्याएर यहाँबाट हेटौंडा हुँदै पूर्वतिर पुर्याउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज मीनबहादुर विष्टले भने, ‘यसअघि पनि पटक–पटक ब्राउनसुगर लगिरहेकाले रोकामा कन्फिडेन्स देखिन्थ्यो । यसपालि उनी प्रहरीबाट बच्न सकेनन् ।’ इन्चार्ज विष्टका अनुसार रोकाले १५.६ ग्राम ब्राउनसुगर ८२ हजार रुपैयाँमा किनेर ल्याएका थिए ।

रोकालाई ब्राउनसुगर हेटौंडा पुर्याइदिएवापत मोटो रकम दिने गरेको जमुनाहाका इन्चार्ज बिष्टले बताए । उनका अनुसार उनले ल्याएको १५.६ ग्राम ब्राउनसुगर हेटौंडा पुर्याउन पाएको भए १७ हजार भारतीय रुपैयाँ पाउने थिए । रोका १७ हजार भारुको लोभमा ब्राउनसुगर लिन हेंटौडाबाट नेपालगञ्ज हुँदै रुपैडिहासम्म पुगेका थिए ।

रोका रुपैडियाको चकियारोडका बारे जानकारसमेत रहेछन् । प्रायः नेपाली चकियारोडभित्र पस्ने आँट गर्दैनन् । रुपैडिहाको चकियारोडमा दिउँसै लुटपाटका घटना हुन्छ । चकियारोडको फुकोट गाउँलाई असुरक्षित मानिन्छ । यहीबाट ब्राउनसुगरलगायतको अवैध कारोबार सञ्चालन हुने प्रहरीको भनाइ रहेको छ ।

रुपैडिहामा सहजै ब्राउनसुगर पाउने भएकाले टाढा–टाढाबाट कारोबारीहरु त्यहाँ पुग्ने गर्दछन् । बाँकेका छिमेकी जिल्लाहरु सुर्खेत, दैलेख, दाङ लगायतबाट रुपैडिहामा ब्राउनसुगरजस्ता लागूऔषध लिन जानुलाई नौलो मानिँदैन किनकि यी ठाउँबाट मोटरसाइकलमा एकैदिनमा रुपैडिहा आएर फर्किन भ्याइन्छ ।

कतिपय भारतीय कारोबारीले ब्राउनसुगर नेपालगन्ज र कोहलपुरसम्म नै पुर्याउने गरेको पाइन्छ । हेटौंडाबाट बस चढेर ब्राउनसुगर लिन रुपैडिहा आइपुगेको भने यो पहिलो घटना भएको बाँके प्रहरीको दावी छ । रोकाले बताएको प्रारम्भिक बयानलाई आधार मान्ने हो भने लागूऔषधको मुख्य कारोबारी हेटौंडामा रहेका छन् ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । नेपालगन्ज नाकामा सधैँ भीडभाड हुने भएकाले अवैध धन्दा गर्न सहज हुने गर्दछ । यहाँ बाह्रैमास लागूऔषध नियन्त्रण व्युरोको टोली खटिँदै आएको छ । बेला–बेलामा प्रहरीले तालिम प्राप्त कुकुर लगेर अनुसन्धानसमेत गर्दै आएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १७:३१