बाँके । डुडुवाका राजेश यादव बिहान साइकलमा दूध राखेर नेपालगन्ज आउँछन् । नेपालगञ्जका एक दर्जन घरमा दूध पुर्याएर उनी घर फर्किन्छन् । बिहान उठेर भैंसीलाई कुडोपानी दिने, दूध दुहुने र साइकलमा राखेर नेपालगन्ज ल्याएर महिनावारी ग्राहकलाई दूध दिएर फर्किनु उनको दैनिकी नै हो ।
डुडुवा नेपालगन्जसँग जोडिएको गाउँपालिका हो । यहाँबाट राजेशजस्ता सयौं किसान बिहान दूध बोकेर नेपालगन्ज आउँछन् र बेचेर फर्किन्छन् । डुडुवाबाट बिहान नेपालगन्ज आउने र फर्किने बाटोमा किसानको लाइन नै देखिन्छ । किसानले साइकल र मोटरसाइकलमा राखेर दूध ल्याउने गर्दछन् । नेपालगन्ज सहर डुडुवाका किसानले ल्याएको दूधमा निर्भर रहेको छ ।
सीमावर्ती सहर भएकाले यहाँ भारतीय किसानले पनि दूध ल्याउने गर्दछन् । नेपालगन्जमा ठूलो मात्रामा दूध डुडुवाबाट नै आउने गर्छ । डुडुवाबाट महिनावारी ठेक्कामा घरघरमा पुगेर दिनेभन्दा डेरीमा एकमुष्ट दिने किसानको संख्या धेरै रहेको छ । डुडुवामा १२० वटासम्म भैंसी पालेका किसान छन् । हल्कारापुरका रामसुहावन यादवले १२० वटा भैंसी पालेका छन् ।
उनले दैनिक ३०० लिटर दूध नेपालगन्ज र कोहलपुरसम्म पुर्याउँछन् । डुडुवामा दश हजार घरधुरीमध्ये ८ हजार ७८६ घरधुरीले पशुपालन गरिरहेका छन् । यादव समुदायको बाक्लो बसोबास रहेकाले डुडुवामा भैंसीपालन बढी रहेको छ । डुडुवा गाउँपालिकाका पशु शाखा प्रमुख सुशीलकुमार शर्माले डुडुवामा २६ हजार बढी गाईभैंसी रहेको जानकारी दिए ।
उनका अनुसार डुडुवाका किसानले ६ वटा डेरीमार्फत महिनामा १८ लाख लिटर दूध बेच्ने गर्दछन् । फुटकर बेच्नेको रेकर्ड नै छैन । गाउँपालिकाले ‘घर–घरमा पशु स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरेको छ । यो कार्यक्रममा किसानले पालेका पशु बिरामी भएमा पालिकाका प्राविधिकले घरमै पुगेर उपचार गरिदिन्छन् ।
‘मेरो पशु बिरामी छ भनेर कसैले फोन गर्यो भने हामी तुरुन्तै घरमा पुगेर उपचार गरिदिन्छौं,’ पशु शाखाका प्रमुख शर्माले भने, ‘हामीले नौ जना प्राविधिक खटाएर यो सेवा दिइरहेका छौं । यो कार्यक्रमबाट किसान लाभान्वित भएका छन् ।’ बाँकेलाई दूध र अण्डामा आत्मनिर्भर गराइँदैछ । नेपालगन्जमा अझै पनि ठूलो मात्रामा भारतबाट गुणस्तरहीन दूध भित्रिने गरेको छ ।
नेपालगन्ज भित्रिने भारतीय दूधको गुणस्तर जाँच हुने गरेको छैन । नेपालगन्ज नाकामा क्वारेन्टाइन भए पनि त्यहाँ जाँच हुँदैन । भारतका किसानले निर्वाधरुपमा दूध ल्याउने गरेका छन् । डुडुवा होस् वा भारतबाट किसानले ल्याउने दूधको गुणस्तर जाँच हुन जरुरी रहेको उपभोक्ताहरु बताउँछन् । डेरीमा पुग्ने दूधको गुणस्तर जाँच हुन्छ । घरघरमा ल्याइने दूधको गुणस्तर जाँच हुँदैन ।
कतिपय किसानले बीच बाटोमा पानी मिसाइरहेको देखिन्छ । नेपालगन्ज ठूलो बजार रहेकाले यहाँ डुडुवा, भारत, राप्तीपारिका गाउँबाट दूध आउने गर्छ । राप्तीपारिबाट कतिपय नेपाली किसानले भारतमा दूध पुर्याउँछन् । मात्रा हेर्दा भारतबाट भित्रिने दूध बढी रहेको छ । तर यहाँका अधिकारीहरुले बाँके जिल्ला दूधमा आत्मनिर्भर रहेको दावी गरेका छन् ।
।