सूचनाको शक्ति - The Power Of Information

        

हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ का विनोद खत्रीकी श्रीमती २२ बर्षिया लक्ष्मी खत्रीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

लोतु सामुदायिक स्वास्थ्य ईकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार विहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी विहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन् । साँझ अवेरसम्म पनि सुत्केरी हुन नसकेको र शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने अवस्था भएपछि खत्रीलाई धनगढी पठाइएको उनको भनाई छ ।

शनिबार विहान गाउँपालिकाका उपाध्यक्ष निशा धामीलाई टेलिफोन गरेर समस्या दर्शाएपछि उद्धारका लागि पहल सुरु भएको थियो । विकट ठाउँ भएकाले उद्धारमा कठिनाई भएको हो । जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पुर्याउन सकिने अवस्था नभएकोले हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाकी उपाध्यक्ष धामीले बताइन् । सडक अवरुद्ध हुँदा जटिल प्रकारका विरामीलाई समस्या हुने गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १६:०५