सूचनाको शक्ति - The Power Of Information

        

उपन्यास ‘दुङाल’माथि अन्तरसंवाद

काठमाडौं । आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताइन् । उनले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बनाइन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको भन्दै यस उपन्यासले तिब्बतीको समस्या समेटेको बताए । उनले तिब्बती शरणार्थीको समस्या राजनीतिक समस्या भए पनि यसलाई राजनीतिको आँखाबाट मात्र होइन मानविय आँखाबाट पनि हेरिनु आवश्यक रहेको भन्दै दुङालले तिब्बती समस्यालाई मानवीय समस्याको रुपमा हेर्न प्रेरित गरेको बताए ।

हिमालयन बुद्धिजम अन्वेषक डा.रमेश ढुंगेलले तिब्बती शरणार्थीको मुद्दा पछिल्लो समय नेपालमा हराउँदै गएको अवस्थामा यस कृतिले केहीहदसम्म शरणार्थीको मुद्दालाइ उजागर गरेको बताए । उनले दुङाललाई आधुनिकताबादमा परम्परा र इतिहासको संमिश्रण रहेको बताए । कार्यक्रममा टिएन भट्टले यस उपन्यासले शरणार्थी बन्नुपर्दाको पीढा साथै मानविय संवेगलाइ स्पष्ट पुस्तकमा उतारिएको बताए ।

पत्रकार एवं समिक्षक राजकुमार बाँनियाले नेपालमा तिब्बती विषय चिन विरोधीरुपमा लिने गरिएको भए पनि यस उपन्यासले नितान्त मानविय संवेग र प्रेमलाई समेटेको बताए । कार्यक्रममा तिब्बती शरणार्थी एंव पाठक टासी छिरिङले उपन्यासले यथार्थमा आफ्नो कथा समेटेको बताउदै पहिचान र राष्ट्र विहिन हुँदा धेरै समस्या झल्नुपरेको बताए । सांग्रील बुक्सद्धारा प्रकाशित दुङालको मुल्य ४८४ रुपैयाँ रहेको छ । केशरीको दुङाल तेस्रो उपन्यास रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १६:००