सूचनाको शक्ति - The Power Of Information

        

अजयमेरूको वेताल सामुदायिक वनबाट अवैध काठ तस्करी

डडेल्धुरा । डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ । गाउँपालिका–२ स्थित वेताल सामुदायिक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो । दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार नियमविपरीत बिक्री भइरहेको स्थानीयको आरोप छ ।

यस विषयमा गाउँपालिका भने जानकारविहीन छ । गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले यसबारे आफूलाई खबर आएको र सवडिभिजन र वडाध्यक्षलाई बुझ्न लगाएको प्रतिक्रिया दिए । सरोकारवाला निकाय उदासीन देखिएका कारण अवैध काठ तस्करी मौलाएको स्थानीय बताउँछन् ।

‘सामुदायिक वनबाट वन कार्ययोजनाविपरीत अवैधरूपमा रूख फँडानी कार्य तीव्र छ । सामुदायिक वनमा भएको तस्करीमा मुख्यरूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो हुन सक्छ,’ एक स्थानीयले भने । यता, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामबिचारी ठाकुरले सडक बनाउने क्रममा रूख कटान गरेको खबर आएको बताए । उनले भने, ‘टोली गएको छ । प्रतिवेदन आउनेवित्तिकै खबर गर्छु ।’

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १२:३३