सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

माधव नेपालले भने, ‘ओलीका कारण न्यायालय समस्यामा’

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीका कारण न्यायालय समस्या देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानन्यायाधीशविरुद्धमा महाअभियोग प्रस्तावको विषयमा कुनै छलफल नभएको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीका बोलीका कारण न्यायालयमा विवाद उत्पन्न भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालको भनाइ थियो । ९ कात्तिकमा ओलीले एमाले पालिका अधिवेशनको उद्घाटनमा पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए । संसद् विघठनको विरुद्धमा लाग्ने न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

‘ओलीले जे पायो त्यही बोलिरहरनु भएको छ, त्यो उहाँको कुन्ठा बोलेको हो’, अध्यक्ष नेपालले भने, ’अग्रगमनकारीलाई खेदो खन्ने उहाँको पहिलै देखीको बानी हो ।’ ओलीका कारण प्रदेश सरकारहरू ढलेको उनले बताएका छन् । ओलीले आफू प्रधानमन्त्री नभए कुर्सी भाँचिदिन्छु भनेको बताउँदै त्यसको प्रभाव सबै प्रदेशमा परेको नेपालको भनाइ थियो ।

भीम आचार्य नेतृत्वको सरकारलाई हटाएर चाडै राजेन्द्र राई नेतृत्वमा सरकार बन्ने उनको दाबी छ । कांग्रेससँग तपाइँहरूको आधाआधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति भएको हो भन्ने सन्चाकर्मीको प्रश्नमा नेता नेपालले अहिले नै छलफल नभएको बताए । कांग्रेसलाई मुख्यमन्त्री आधा कार्यकाल नदिए गठबन्धन टुट्ने देखियो नि भन्ने अर्काे प्रश्नमा उनले कमजोर धागोमा नबाँधिएकोले प्रतिगमन विरुद्धको अभियान लामो समयसम्म जाने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार ११:४०