सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सवारी निगरानी गर्ने निकाय न्यून हुँदा कर्णालीमा दुर्घटना जोखिम बढ्दो

दैलेख । कर्णाली प्रदेशभर निजी र सरकारी गरी १३ हजार ५२ वटा सवारी साधन दर्ता छन् । दुर्घटनाको संख्या पनि बढ्दो छ । तर, यसको निगरानी गर्ने निकाय ट्राफिक प्रहरीको संख्या न्यून छ । प्रदेशका १० जिल्लामा २२४ जना कार्यरत मात्र छन् । यति थोरै संख्याले सडकमा सयौंको संख्यामा गुड्ने सवारी जाँचदेखि सुरक्षा तथा निगरानी गर्नुपर्ने अवस्था छ ।

सडकमा सवारीको चापसँगै पछिल्लो समय दुर्घटना पनि बढ्दै गएका छन् । जनशक्ति कम हुँदा सडकको निगरानी गर्न समस्या भएको प्रहरीले जनाएको छ । प्रदेशभर निजी, भाडाका र सरकारी गरी १३ हजार ५२ वटा सवारी साधनलाई १० जिल्लाका २२४ जनालाई हम्मेहम्मे परेको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर सुर्खेतमै पनि थोरै संख्यामा ट्राफिक प्रहरी कार्यरत छन् ।

यहाँ ७० जना ट्राफिक प्रहरी रहेका छन् । यो जनशक्ति सवारी साधनको संख्या हेर्दा कैयौं गुणा थोरै हो । जहाँ सवारी साधनको चाप अत्यधिक छ । निर्वाह गर्नुपर्ने दायित्व धेरै तर पर्याप्त जनशक्तिको अभाव हुँदा कठिन हुने गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरका सडकमा दैनिक ठूलो संख्यामा सवारी साधन ओहोरदोहोर गर्छन् । वीरेन्द्रनगर व्यस्त र भिडभाड हुने क्षेत्रमा पर्छ ।

ट्राफिक व्यवस्थापन फितलो हुँदा दिन प्रतिदिन सडक दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दो छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयमा समेत प्रयाप्त जनशक्ति छैन । १० जिल्ला हेर्ने उक्त कार्यालयले ३४ जनाको भरमा कार्यसम्पादन गर्दै आएको हो । त्यस्तै, दैलेखमा २२, जुम्लामा १२, सल्यानमा २३, पश्चिम–रुकुममा १७, कालिकोट र जाजरकोटमा १३÷१३, मुगुमा र हुम्लामा पाँच तथा डोल्पामा १० जना ट्राफिक कार्यरत छन् ।

दुर्घटनाको दर बढ्दो

प्रदेशभरका मुख्य तथा सहायक सडक खण्डमा दुर्घटनाको दर बढ्दो छ । तर, त्यसको निगरानी गर्ने निकाय आफै स्रोत साधन र जनशक्तिको अभाव झेलिरहेको छ । प्रदेशमा दिनहुँ जसो हुने सडक दुर्घटनामा मानवीय र भौतिक क्षति ठूलो हुने गरेको छ । जनशक्ति र स्रोत साधनको अभावमा सेवा प्रवाहमा समस्या हुने गरेको प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राकेश सिंह बताउँछन् ।

बढ्दो सवारी साधनको संख्या र सडक दुर्घटनालाई मध्यनजर गर्दै जनशक्ति थप गर्न लागिएको उनले जनाए । उनका अनुसार ट्राफिक प्रहरीमा दरबन्दी नै थोरै हुन्छ । ‘अहिले प्रदेश प्रहरी कार्यालयबाट केही संख्या काजमा ल्याएर धानिरहेको अवस्था छ,’ उनले भने । ट्राफिक प्रहरीसँग आवश्यक स्रोतसाधन पनि न्यून छ ।

प्रदेश कार्यालय पनि भाडाकै भरमा

जो प्रत्यक्ष जनताको सुरक्षामा खटिएको ट्राफिक हो । उसलाई नै सरकारले हेला गरेको छ । नागरिकको जिउधनको क्षति कम गर्न अहोरात्र खटिएर लाग्ने ट्राफिक प्रहरीलाई गर्नसम्म हेला गरेको पाइन्छ । नत आफ्नै भवन छ । नत कार्यालयलेमा राम्रोसँग बस्ने व्यवस्थाको प्रबन्ध गरिएको पाइन्छ ।

अहिले पनि प्रदेश ट्राफिक कार्यालयसमेत भाडाको घरबाट सञ्चालित छ । ट्राफिकले सडकमा गुड्ने सवारीको निगरानीदेखि राजस्व संकलनसम्मको काम गर्नुपर्छ । ट्राफिक प्रहरीले निर्धारितभन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, दर्ताविनाका सवारी, बाटो इजाजत नलिएको, ट्राफिक संकेत तथा इसारा उल्लघंन गरेको जाँच गर्छ ।

यस्तै, तोकिएभन्दा बढी मालसामान हालेमा, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाए, नम्बर प्लेट नराखेको, पेटी नबाँधेको हेलमेट नलगाएको र मादकपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइए कारबाही गर्नेलगायत जिम्मेवारी ट्राफिक प्रहरीलाई छ । यसका अलावा उच्च तहका व्यक्तिको भ्रमणको समयमा सवारी आगमनलाई प्रभावकारी बनाउने जिम्मासमेत ट्राफिकको काँधमा छ । न्युज कारखाना

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १०:०६