सूचनाको शक्ति - The Power Of Information

        

परीक्षणका लागि चीनबाट ल्याइँदैछ विद्युतीय बस

काठमाडौं । निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकोमा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले जनाएको छ ।

ती बस काठमाडौँमा ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छ÷छैन हेरिने संस्थाका सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । उनले भने, ‘ती बस यहाँको सडकका लागि ठीक भएमा थप त्यसको चार महिनामा ४० बस आउनेछ ।’ संस्थामार्फत नै तीन सय बस खरिद गर्न लागिएकामा पहिलो चरणमा ४० बस आउनेछ । पहिलो चरणको बस अबको आठ महिनामा ल्याउने योजना बनाइएको भए पनि त्यसबाहेकका अरु बस कहिलेसम्म ल्याउने भनी यकीन नभएको सञ्चालक समिति सदस्य तुलाधरले बताए ।

’पहिलो चरणमा सबै ठीक भएपछि बिस्तारै अरु बस ल्याएर सञ्चालन हुनेछ,’ उनले भने । संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली रु छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।

संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ ।

अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरको भनाइ छ ।

विद्युतीय बस आउँदै गर्दा संस्थाले यीभन्दा ठूला विद्युतीय बस पनि सञ्चालन गर्न आवश्यक अनुसन्धान सुरु भएको जनाएको छ । संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो ।

सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको रु तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनःबस खरिद गर्दामार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो ।

लामो छलफल पछि पुनःसाझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो । देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढुवा दिने सरकारले योजना बनाएको छ । विद्युतीय बसलाई लक्षित गरेर प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । सङ्घले मात्रै होइन प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौँ र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १७:४१