सूचनाको शक्ति - The Power Of Information

        

बर्षाले धानबाली क्षति

किसानलाई ५ अर्ब ५२ करोड राहत

फाइल तस्वीर

काठमाडौं । वर्षाका कारण धानबालीमा भएको क्षति सम्बन्धमा सरकारले सबै प्रकारका पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार हालसम्मको तथ्यांक अनुसार अनुमानित १ लाख ११ हजार हेक्टर क्षेत्रफलको लागि राहत उपलब्ध गराउन लागेको हो । उक्त हेक्टर जमिनको राहतका लागि अनुमानित ५ अर्ब ५२ करोड रकम हुने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए ।

१० कठ्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको ६५ प्रतिशत राहत मन्त्रालयले उपलब्ध गराउने भएको छ । जसमा प्रति कठ्ठा १ हजार ९२१ राहत रकम स्वरुप पाउनेछन् भने प्रतिविघा ३८ हजार ४२० उपलब्ध गराइनेछ । मझौला किसान (११ देखि ४० कठ्ठासम्म)ले उत्पादन लागतको ३० प्रतिशत राहत रकम पाउनेछन् । जसमा प्रतिकठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० को रकम दिइनेछ ।

ठूला किसान (४१ कठ्ठाभन्दा बढी)ले उत्पादन लागतको २० प्रतिशत राहत पाउनेछन् । जसमा प्रतिकठ्ठा ५९१ र प्रति विघा ११ हजार ८२० राहत रकम पाउनेछन् । यस्तै, आंशिक क्षतितर्फ सबै वर्गका किसानले उत्पादन लागतको २० प्रतिशत राहत पाउनेछन् । जसमा प्रतिकठ्ठा ५९१ र प्रति विघा ११ हजार ८२० को रुपैयाँ उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १७:३२