बझाङ । बेमौसमी बर्षाका कारण थलारा गाँउपालिकामा गएको पहिरोमा परि बेपत्ताको खोजीका लागी गएको टोली फिर्ता भएको छ ।
थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये चार जनाको मात्र शव फेला परेको थियो ।
दुइवटा शवको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरेको उद्धार टोलीले शव नभेटाएपछि १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरेको हो ।
घटना भएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजीकार्य थालेको थियो । पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सम्मेलत टोली उद्धार कार्यमा संलग्न थियो । एक साता भन्दा बढी भयो खोज्न थालेको अब मान्छे जिउँदै होलान् भन्ने आसा पनि छैन ।
अब भेटिने सम्भावना नदेखेरै टोली बुधबार साँझ घटनास्थल बाट फर्केको हो ।’ वेपत्ता भएकाहरू जिवित भेटिने सम्भावना नरहेकाले खोजीकार्य बन्द भएको र आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी भईरहेकोप्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।
।