सूचनाको शक्ति - The Power Of Information

        

समाचार

चिकित्सा केन्द्रको ‘हव’ बन्दै नेपालगन्ज

फाइल तस्वीर

बाँके । पश्चिम नेपालकै सबैभन्दा प्रमुख सहर मानिएको नेपालगञ्ज विस्तारै मेडिकल हब (चिकित्सा केन्द्र) बन्दै गएको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालले पूरै पश्चिम नेपालका बिरामीलाई उपचार सेवा दिँदै आए पनि यहाँ एकपछि अर्को निजी अस्पताल खुल्ने क्रम पनि जारी नै छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी प्रदेशका समेत धेरै जिल्लाबाट ‘रिफर’ गरेर बिरामी यहाँ आउने भएकाले दिनदिनै सुविधा सम्पन्न अस्पतालहरू खुल्दै गएका छन् । पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिका १८ बुद्धचोक भुजइगाउँमा डेढ करोडको लागतमा सुविधा सम्पन्न केयर सिटी अस्पताल सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर छिटोछरितो गुणस्तरीय सेवाको लागि नेपालगन्जमा केयर सिटी अस्पताल एन्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको जनाइएको छ । नेपालगन्ज वडा नम्बर १८ को बुद्धचोक भुजइगाउँमा रहेको सो अस्पतालमा २४सै घण्टा जाँच तथा परामर्श सेवासमेत सुरु गरिएको अस्पतालका सञ्चालक बालरोग विशेषज्ञ डा. विष्णुकुमार थापाले बताए ।

उनले नेपालगन्जमा दिनदिनै विभिन्न जिल्लाबाट गुणस्तरीय स्वास्थ्य उपचारका लागि समग्र पश्चिम नेपालबाटै धेरै बिरामी आउने गरेकाले यो अस्पताल सञ्चालनमा ल्याइएको बताए ।सो अस्पतालमा कन्सल्टेन्ट फिजिसियन डा.दृष्टि शाह, नाक–कान–घाँटी विशेषज्ञ डा.आनन्दकुमार झा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.राजन महत, कन्सल्टेन्ट सर्जन डा.सुरेश थापा लगायतका चिकित्सकहरूले बिरामीको जाँच र उपचार गर्ने डा.थापाले बताए ।

उनले अस्पतालमा फिजिसियन, दन्त रोग, बालरोग, छाला तथा सौन्दर्य, स्त्रीरोग, नाक, कान, घाँटी लगायत रोगको उपचार सेवा प्रदान सुरु गरिएको जानकारी गराए । उनका अनुसार सम्पूर्ण स्वास्थ्य सम्बन्धी परीक्षणका लागि प्याथोलोजी, भिडियो एक्सरे र फार्मेसी अस्पतालमै रहेको बताए । बाँकेमा नेपालगन्ज मेडिकल कलेजको ठूलो शिक्षण अस्पताल, कौशिल्या मेमोरियल अस्पताल तथा खजुरामा सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा छन् ।

त्यस्तै नेपालगन्जमा सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालसँगै मेडिकल कलेजको शिक्षण अस्पताल, वेस्टर्न अस्पताल, सिद्धार्थ अस्पताल, सिटी अस्पताल, वैष्णवी अस्पताल, युनाइटेड अस्पताल, जानकी अस्पताल, भिजन आँखा अस्पताल, फत्तेबाल आँखा अस्पताल र लाइफलाइन अस्पताल लगायत दर्जनौँ निजी क्लिनिक र प्रयोगशाला तथा प्याथोलोजी सञ्चालनमा छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ०९:५६