सूचनाको शक्ति - The Power Of Information

        

बेनी–जोमसोम सडक दैनिक १० घन्टा बन्द हुने

म्याग्दी । बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक १० घन्टा बन्द गरिने भएको छ ।

सडक स्तरोन्नती गर्न मुस्ताङ सीमावर्ती म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काप्रेभीर खण्डमा सडक मर्मत तथा स्तरउन्नत गर्न लागेको कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक आयोजनाको कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको काप्रेभीर खण्डमा बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म यातायात पूर्णरुपमा बन्द हुने जनाएको छ ।

त्यसैगरी प्रहरीले सडकको अवस्था हेरी बन्द हुने समय केहीबेर थपघट हुने जनाएको छ । उक्त बेनी–जोमसोम सडकको काप्रेभीर खण्डमा यातायात बन्द भएको समयमा यात्रु रुप्सेछहराबाट कालीगण्डकी नदी तरेर पुरानो पैदलमार्ग पछ्याउँदै कोप्चेपानी, पौहथाप्ला हुँदै मुस्ताङको घाँसा निक्लन सक्छन् ।

सो समयमा तल बेनीबाट गएका सवारी साधन रुप्सेछहरासम्म र माथि जोमसोमबाट झरेका सवारीसाधन तल्लो घाँसासम्म पुग्छन् । संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा पर्ने काप्रेभीर क्षेत्र बेनी–जोमसोम सडकको सबैभन्दा कठिन, जोखिमपूर्ण खण्ड हो ।

कालीगण्डकी नदीले सडकको बेससहित सडक बगाएकोले काप्रेभीरमा विस्फोटक पदार्थ प्रयोगगरी सडक स्तर उन्नत गर्न लागिएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ०९:४५