सूचनाको शक्ति - The Power Of Information

        

लाइसेन्सको आवेदन दुई दिनमै बन्द

काठमाडौं । खुलेको दुई दिनमै यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन प्रणाली बन्द भएको छ ।

गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको आवेदन यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली सोमबार रातिबाट खुलेको थियो ।

नियमित रुपमा फारम भर्न सकिने भनिए पनि प्रणाली बन्द भएको भन्दै सेवाग्राहीले दुखेसो पोखेका छन् । विभाग स्रोतले भने प्राविधिक कारणले प्रणाली बन्द भएको बताएको छ ।

लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने बताएपनि विभागले सोवाग्राहीलाई महिनौंपछिको ‘एपोइन्मेन्ट’ मिति तोकेको थियो ।

त्यसअनुसार अहिले फारम भरेकाहरुले २०७९ को असारसम्मको ‘एपोइन्मेन्ट’ मिति पाइरहेका थिए । भक्तपुरको जगाति कार्यालयबाट लाइसेन्स लिन बिहीबार बिहान फारम भरेका एक सेवाग्राहीलाई २१ जुन २०२२को एपोइन्मेन्ट मिति दिइएको छ ।

एकान्तकुना लगायतका बढी चाप हुने यातायात कार्यालयले दिने मिति अझै पर पुगेको हुनसक्ने अनुमान छ । नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ ।

लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ ।

तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

तर, आवेदन प्रणाली नै बन्द भएपछि लाइसेन्सको आवेदन दिने क्रममा रहेका सेवाग्राही मर्कामा परेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १८:३७