सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राप्तीसोनारी ७ बालबिवाहमुक्त घोषणा

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ७ लाई आज औपचारिक रुपमा बालबिवाहमुक्त वडा घोषणा गरिएको छ ।

वडाले बालबिवाहमुक्त वडा घोषणा गर्न अपनाउनुपर्ने सबै मापदण्ड पुरा गरेकाले आज घोषणा गरिएको राप्तीसोनारी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमार खत्रीको प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाही, वडा नम्बर ६ का अध्यक्ष जनक बहादुर थारु, स्याक नेपालका कार्यसमिती सदस्य कृष्ण गिरी, जनप्रतिनिधि लगायतले आफ्नो भनाई राख्दै प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका थिए ।

यहाँ थारु, मधेसी, मुस्लिम, पहाडी समुदायको बसोबास रहेकोले राप्तीसोनारीको वडा नं. ७ का ती समुदायमा बालबिवाह गर्ने प्रचलन छ ।
यद्यपी अहिले मधेसी तथा मुस्लिम समुदायमा बालबिवाह गर्ने प्रचलनमा धेरै कमी आएको वडाध्यक्ष थारु बताउँछन् ।

विभिन्न जातजाती र भाषाभाषीसँगै विविधताले भरिएको बताउँदै वडाध्यक्ष थारुले भने, ‘पछिल्लो समयमा यस वडामा बालबिवाह गर्ने प्रचलन धेरै घटिसकेको छ, यो सकारात्मक पक्ष हो ।’

बालबिवाहमुक्त वडा घोषणा हुनेमा यो वडा गाउँपालिकाभित्र दोस्रो नम्बरमा पर्नेछ । यसअघि राप्तीसोनारी ३ मा बालबिवाहमुक्त वडा घोषणा गरिएको थियो ।

प्लान, स्याक नेपाल लगायत संघ संस्थासँगको सहकार्य तथा समन्वयमा वडालाई बालबिवाहमुक्त घोषणा गरिएको हो ।

साथै, कार्यक्रममा सत्यपार्टी डटकम लगायतलाई सम्मानपत्रले सम्मानित गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १८:०३