सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आर्थिक अभावले मदरसा सञ्चालनमै समस्या

फाइल तस्वीर

बाँके । मदरसा शिक्षालाई व्यवस्थित गरी सञ्चालन गर्न र हाल भोग्नुपरेको समस्या र त्यसको निकासका लागि पहल गर्न यहाँ एक बृहत् छलफलको आयोजना गरिएको छ । राष्ट्रिय मदरसा काउन्सिल नेपालले आयोजना गरेको सो छलफल कार्यक्रममा सहभागी विभिन्न मदरसाका सञ्चालकले हाल भोग्नुपरेका समस्या र सोको निकासका बारेमा धारणा राखेका थिए ।

लुम्बिनी प्रदेश राष्ट्रिय मदरसा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ती कैफुलवरा मिसबाहीले सरकारले लागू गरेको पाठ्यक्रमसँगै इस्लामिक ज्ञान दिइने मदरसा सञ्चालनका लागि आर्थिक स्रोत र साधनको कमी प्रमुख समस्या भएको कुरा अधिकांशले उठाएको बताए । उनले मदरसा सञ्चालनमा आर्थिक समस्या नै सबैभन्दा प्रमुख समस्या रहेको कुरा मदरसा सञ्चालकहरूबाट आएकाले सो सम्बन्धमा सरकारले कुनै विशेष नीति बनाउनुपर्ने कुरामा जोड दिए ।

विभिन्न जिल्लामा रहेका मदरसा तीन तहका सरकार तथा स्थानीय समुदायको सहयोगमा सञ्चालन हुने गरेका छन् । ‘लकडाउनका कारण समुदायबाट आउने सहयोग बन्द भएको छ,’ उपाध्यक्ष मिसबाहीले भने, ‘आर्थिक अभावले मदरसा बन्द गर्न बाध्य हुनुपर्ने अवस्था आएको छ ।’ उनले मदरसाहरूलाई समानरूपमा आर्थिक सहयोग प्रदान गरेर स्थायी समाधानका लागि सरकारले व्यवस्थापन गर्नुपर्ने मागसमेत गरे ।

मदरसा बरकातिया नेपालगन्जका संस्थापक मौलाना अब्दुल जब्बार मन्जरीले मुस्लिम समुदायका बालबालिकाको मदरसाप्रति आकर्षण बढ्दै गए पनि आर्थिक अभावले मदरसा सञ्चालनमै समस्या आएको बताए । उनले स्थानीय तहले मदरसाप्रति कुनै पनि चासो नराखेर विद्यालय र मदरसालाई हेर्ने दृष्टिकोण नै धेरै फरक रहेको गुनासो गरे ।

दारुल उलूम गुलशने रजाका प्रधानाध्यापक कारी अजमत अली शेखले शिक्षकको दरबन्दी नहुँदा अध्यापन गर्न निकै समस्या हुने गरेको सुनाए । उनले स्थानीय तहमा पहल गर्दा समेत कुनै सुनुवाइ नभएको बताए । उनले चार वर्षदेखि शिक्षकका लागि स्थानीय तहमा अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो गरे ।

स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारीबाट पटकपटक मदरसा अनुगमन गरिए पनि मागमा कुनै ध्यान नदिएको बताए । मदरसा दारुलउलूम अताए मुस्तफाका प्रधानाध्यापक साकिर अली बेहनाले मदरसाका समस्या तथा आवश्यकताका बारेमा शिक्षा शाखा पुग्दा वास्तै नगर्ने गुनासो गरे ।

शिक्षा शाखामा बस्ने कर्मचारीले मदरसाप्रति राम्रो दृष्टिकोण नराखेको आरोप बेहनाको छ । लुम्बिनी प्रदेश राष्ट्रिय मदरसा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ती कैफुलवरा मिसबाहीको अध्यक्षतामा सम्पन्न भएको सो अन्तक्र्रियामा बाँकेका विभिन्न मदरसाका प्रधानाध्यापक र प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०९:४०