सूचनाको शक्ति - The Power Of Information

        

मरेका पशुचौपायाबाट महामारि फैलने त्रास

बझाङ । बाढी पहिरोका कारण मरेका पशुचौपाया व्यवस्थापन नहुँदा बझाङको खप्तडछान्ना गाउँपालिकामा महामारी फैलने त्रास बढेको छ ।

बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले पशुचौपाया मरेर गन्ध आउन थालेपछि खप्तडछान्ना गाउँपालिकामा महामारी फैलाने त्रास बढेको हो ।

गाउँपालिकाको धेरैजसो गाउँमा बाढी पहिरोले पशुचौपाया बाँधिएका घरहरु पुरेपछि गन्ध आउने र रोगको संक्रमण गराउने भाइरस सक्रिय रहने हुँदा महामारी त्रास बढेको खप्तडछान्ना गाउँपालिका १ देहली गाउँका स्थानीय डबल बमले बताउनुभयो ।

खप्तडछान्नाको वडा नम्बर १ कुचेखोला, खाती गाउँ, डाँडागाउँ, गडिगाउँ, मुसराडी, देहली गाउँ, वडा नम्बर २ को मल्लो ऐँचेली बगर, सुसाने बगर, वडा नम्बर ३ को मेल्तडी, दलित बस्ती लगायतका ठाउँमा गोरु, बाख्रा, भैँसी, घोडा, कुखुरा, माछा बाढी पहिरोले पुरिएर मरेकाले गन्ध आउँदा त्यस ठाउँ आसपास बस्न असहज भएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीयको गुनासोपछि बाढी पहिरोको अनुगमन थालेको गाउँपालिकाले तत्काल मरेका पशुचौपाया व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ ।

गाउँपालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले पशुचौपाया मरेका ठाउँमा औषधी छर्कने र खाल्डोमा व्यवस्थापनका लागि निर्देशन दिइसकेको बताउनुभयो ।

मरेका पशुचौपाया कुहिएर गन्हाउन थालेपछि झाडापखाला, टाइफाइड जस्ता रोगको महामारी फैलने हुँदा चाँडो व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने जिल्ला अस्पतालका डाक्टर मिलन खड्काको भनाई छ ।

मरेका पशुचौपायालाई खाल्डोमा पुरेर, औषधी छर्केर व्यवस्थापन गर्न सकिने डाक्टर खड्काले बताउनुभयो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०९:१०