सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राजमार्ग क्षेत्रमा बाघको त्रास कायमै

फाइल तस्वीर

बाँके । बाँकेको पूर्व–पश्चिम राजमार्गमा रहेको गाभर क्षेत्रमा एक महिनाअघि मान्छे खाएर सोही क्षेत्रमा रहेका बाघ अझै नियन्त्रणमा नआउँदा सोवरिपरिका गाउँबस्तीमा त्रास कायमै रहेको छ । सोही त्रास र डरका कारणले गाभर लगायतका क्षेत्रका बासिन्दा घरबाट निस्कनसमेत डराइरहेका छन् भने उनीहरूले दसैँ पनि घरमै कैद भएर मनाएको दुःखेसो सुनाएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि अझै नियन्त्रणमा लिन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चारवटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्र्यापिङ’का क्रममा कैद भएका थिए ।

अहिले ती बाघ राष्ट्रिय निकुञ्जको गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको पाइएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ नियन्त्रणमा नआउँदा गत एक महिनादेखि चौपायालाई घरभित्रै थुनेर राख्नुका साथै आफूहरू पनि घरबाहिर एकदमै कम निस्किएको गाभरका दिलबहादुर ओलीले बताए ।

उनले सो क्षेत्रमा चारवटा वयस्क पाटेबाघ देखिएपछि सर्वसाधारणमा ठूलो त्रास उत्पन्न भएकाले कोही पनि घरबाट निस्कन नचाहेको बताए । अर्का बासिन्दा नरेश थापाले बाघ आतङ्कका कारण चाडपर्व पनि घरमै लुकेर मनाएको सुनाउँदै निकुञ्जले नियन्त्रणमा लिन नसक्ने हो भने बाहिरबाट मानिस बोलाउनुपर्ने माग गरे ।

बाँके निकुञ्जका रेन्जर राजन पण्डितले निरन्तर प्रयास भइरहे पनि बाघ नियन्त्रणमा लिन समस्या भइरहेको बताए । ‘बाघ नियन्त्रण गर्न राखेको पाडो नै बाघले खाइदिएको छ । बाघमाथि निगरानी बढाइए पनि नियन्त्रणमा लिन सकिएको छैन,’ उनले भने । बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको र सेनाको गस्ती पनि निरन्तर भइरहेको उनले जनाए ।

निकुञ्जका अनुसार बाघ नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिक खटिएका छन् । ठाउँठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारीले बाघको निगरानी गरिरहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्व–पश्चिम राजमार्गमा राति साना सवारीसाधनलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको बताए ।

निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ । गत महिना पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । सो घटनापछि उक्त क्षेत्रमा बाघको आतङ्कले आवागमन गर्नेदेखि त्यहाँ बसोवास गर्ने सबैलाई त्रसित बनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार ०८:४४