सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

बागमतीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, ५५ सांसदको समर्थन आवश्यक

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मत विभाजन आज हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुन लागेको हो । मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाले विश्वासको मत विभाजनका लागि कार्यविधि पनि तयार गरिसकेको छ । कार्यव्यवस्था तथा परामर्श समितिअन्तर्गत रहेर गठन गरिएको उपसमितिले ‘दस्तखतसहितको मत विभाजन सम्बन्धि कार्यविधि–२०७८’ तयार गरेको छ ।

कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ । गत असोज २४ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन् । कात्तिक ४ गतेको बैठकमा सो प्रस्तावमाथि छलफल भएको थियो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताले प्रस्तावमाथि आ–आफ्नो विचार राखेका थिए ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । नेकपा एमालेका १३ सांसद् एकीकृत समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

मुख्यमन्त्री शाक्यसँग हाल सभामुखसहित ४३ जना सांसद् छन् । प्रदेश सभामा एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई÷दुई तथा जनता समाजवादी पार्टीका १ सांसद् छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन चाहिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार ०८:२१