सूचनाको शक्ति - The Power Of Information

        

माओवादीका पूर्व लडाकुका पीडा

‘जनयुद्धका सारथीलाई भेट्नै मुस्किल, कस्तो होला मन्त्री र मुख्यमन्त्रीको अनुहार ?’

सुर्खेत । दैलेख नारायण नगरपालिका खुर्सानीबारीकी सरस्वती हमाल (योगी)को सात जनाको परिवार थियो । नचिनेका व्यक्ति आएर उनका घर परिवारलाई बेलाबेला तनाव दिइरहन्थे । भन्थे, ‘तेरो दाई खोई, नत्र तिमिहरुको घरपरिवार रहदैनौँ’ । यसरी धम्की दिनेहरु थिए, सशस्त्र द्वन्द्वका विद्रोही पक्ष । त्यत्तिबेला माओवादीलाई युवा केटा होस् या केटी करकाप र धम्कीले विद्रोहमा लाग्न दबाव दिन्थे ।

त्यसैगरी दबाव दियो सरस्वतीको घरपरिवारलाई पनि । विद्रोही पक्षले मात्रै नभएर सरकार पक्षबाट पनि उस्तै तनाव थियो । दुवै पक्षको दबाव र पीडा सहन नसकेर कक्षा ८ मा पढ्दै गर्दा २०५९ सालमा विद्रोहमा होमइन् सरस्वती । उनी मात्रै नभएर परिवारका कान्छी सानी बहिनीबाहेक अन्य ३ बहिनी र दाइ पनि सँगै होमिए । आमाबावु र बहिनीको माया मारेर भूमिगत बने ।

राज्य र विद्रोही दुवै पक्षको दबाव सहन नसकेर लाग्यो ‘कि अरुलाई मारौँला, कि आफू मरौँला’ । अनि सुरु भयो विद्रोहको यात्रा । ‘घरमा आएर दिनदिनै दाइलाई सँगै हिड्नुपर्छ नत्र जे पनि हुन सक्छ भनेर माओवादीले धम्की दिने,’ सरस्वतीले भनिन्, ‘अर्कोतिर सेनाले तेरो दाइ खोइ भन्ने र माओवादीको सिआईडी भनेर दुवै पक्षबाट घरपरिवारलाई नै पीडा दिन्थे, त्यही पीडा सहन नसकेर कि आफू मरौँला, की अरुलाई मारौँला भनेर भूमिगत हुन बाध्य भयौँ ।’

भूमिगत बनेको डेढ वर्ष नबित्दै उनका दाइ कृष्णबहादुर हमालले (चट्याङ) अकालमै राज्य पक्षबाट ज्यान गुमाउनुपर्यो । दाइलाई गुमाएकी सरस्वती अहिले तीन बहिनीसँगै जीवन जिउन संघर्षरत छिन् । सरस्वती जब माओवादीमा प्रवेश गरिन् अगुवा बनेर जस्तोसुकै लडाई र भिडन्तमा होमिन्थिन् । त्यसरी नै सशस्त्र द्वन्द्वमा विभिन्न जिल्लाहरुमा भएका भिडन्तहरुमा सरस्वती परिन् ।

धेरै भिडन्त र आक्रमणहरुमा आँखै अगाडि आफूसँगैका साथीहरुले रगतको खोलो बगाएर कहिल्यै नर्फकिने गरेर बिदा लिए । तर, त्यस्ता भिडन्तहरुमा जोगिइन् सरस्वती । ‘भूमिगत भएपछि दाइको मृत्यु भयो, तर पनि हामीले हार नखाएर जस्तो सुकै लडाई र भिडन्तमा पछि नहटेर लड्नुपर्थ्यो,’ सरस्वती सम्झिन्छिन्, ‘आखै अगाडि कति साथीहरु रगतको खोलो बगाउँदै छटपटिएर मर्नुहुन्थ्यो, कतिलाई मारिन्थ्यो, त्यस्तो स्थितीबाट धन्न तीन बहिनीहरु बच्यौँ ।’

अयोग्य ठहरिएपछि…

युद्धमा प्रवेश गरेको छोटो समयमै कठिन परिस्थिती झेलिन् । ०६२/०६३ सालमा विद्रोही र सरकारवीच विस्तृत शान्ति सम्झौता भएसँगै । अनि रोकियो युद्धका गतिविधि । शान्ति सम्झौतापछि विद्रोही पक्ष माओवादीलाई सात वटा अस्थायी शिविरमा राखियो । सरस्वती थिइन् छैठौँ डिभिजन दशरथपुरमा । यो अस्थायी शिविर पनि कमाण्डर महेन्द्रबहादुर शाहीले सम्हालेका थिए ।

अस्थायी शिविरमै रहेका बेला २०६५ सालमा योग्य लडाकु र अयोग्य लडाकु भनेर छानविन भयो । छानविनमा अयोग्य ठहरिइन् सरस्वती । अनि फिर्ता हुनुपर्ने भयो घर । ‘ज्यानको बाजी लगाएर युद्धमा गइयो, दुःख, संघर्ष गरियो,’ सरस्वतीले विगत कोट्याउदैँ भन्छिन्, ‘सेनाका क्याम्प हान्नु परे, भिडन्त परे अगाडि सरेर जाने हामी, रगतको खोलो बगाएका हामीलाई हाम्रा कमाण्डर नेताहरुले अहिले अयोग्यको बिल्ला भिडाए, घर न घाटको बनाए ।’

बहिर्गमनमा पर्नेका लागि पाँच लाख दिने भनिएपनि उनको हातमा एक लाख रुपैयाँमात्रै पर्यो । त्यो रकम पनि क्याम्प भित्रबाट भागेकाहरुको तलब कटौती गरेको रकम बुझेकी थिइन् । आफ्नो पढ्ने उमेरमा ज्यानको बाजी लगाएर युद्धमा होमिएकी सरस्वती घर फर्किनेबेला रित्तो हात फर्किनु परेको गुनासो गर्छिन् । ‘छानविनमा अयोग्य लडाकु भनेर पाँच लाख आउँछ भन्थे तर, एक लाख बुझेको हो,’ सरस्वतीले भनिन्, ‘खुकुरीको धारमा ज्यान राखेर युद्धमा लडियो । तर घर फर्किने बेलामा रित्तो हात भयो ।’

त्रिपालमुनि बास…

अहिले पनि जीवन जिउन संघर्ष गरिरहेकी छिन् । जुन द्वन्द्वकालको संघर्षभन्दा कम छैन । फरक पहिले सशस्त्र हुन्थ्यो, अहिले निशस्त्र । सानो झुपडी बनाएर सुर्खेत वीरेन्द्रनगर ८ इत्राम बसेका सरस्वतीको परिवार २०७१ साल यता त्रिपालको साहरामा छन् । बाढी पहिरोले त्यतिबेला भएको झुपडी पनि सँगै लिएपछि घर न घाट भएर अस्थायी शिविरमा च्यातिएका पालमुनि बसिरहेका छन् ।

‘अयोग्य भनेर निकालेपछि इत्राममा बस्दै आएका थियौँ, बाढी पहिरोले लगेपछि अहिले पालमुनिको बास छ,’ उनी भन्छिन्, ‘बाढीपीडितलाई पुर्नस्थापना गर्छौ, गर्छौ भनेर सरकारले भनेको धेरै भयो तर, अहिलेसम्म केही गरेको छैन ।’ उनीमात्रै होइन झनै सकसपूर्ण युद्धको समय व्यतित गरेका उनका श्रीमान् मनबहादुर योगी अहिले बिरामी छन् । २०५८ सालमा भूमिगत भएका योगीले कालिकोटको पिली आक्रमण, बर्दियाको सोरहवा भिडन्त लगाएतमा अगुवाई गरेका थिए ।

तर, हालत अहिले दुवैको उस्तै छ । खाउ खाउ र लाउँ लाउँ भन्ने उमेरमा जीवन दाउमा राखेका उनीहरु दुवैले कष्टपूर्ण जीवन बिताइरहेका छन् । जनयुद्धकालका सारथि मुख्यमन्त्री बनेर सरकार हाँकेका महेन्द्रबहादुर शाहीलाई दुई वर्षअघिदेखि भेट्न चाहिरहेका छन् । तर, उनीहरु न हुने खाने, न अहिले राजनीतिक पहुँच छ । जसले गर्दा बारम्बार मुख्यमन्त्री कार्यालय पुगेका उनीहरु कहिले प्रवेशद्वारबाटै फर्किनुपर्छ भने कहिले ढोकाबाटै ।

मुख्यमन्त्रीलाई भेट्नै मुश्किल

उनीहरुलाई मुख्यमन्त्री कार्यालयमा नभएको भन्दै कहिले सुरक्षाकर्मीले त कहिले मुख्यमन्त्री शाहीका नीजि सचिवालयका कर्मचारीले फर्काउँछन् । ‘मुख्यमन्त्रीलाई भेट्न पटक पटक गयो, तर, कहिले आर्मी पुलिसले कार्यालयमा हुनुहुन्न भन्छन्, कहिले कालिकोटे (नीजि सचिवालय) कर्मचारीले हुनुहुन्न भन्दै फिर्ता गर्छन्,’ उनले भनिन्, ‘अहिले मुख्यमन्त्रीको अनुहार कस्तो छ, हेर्न पनि नपाउने? अरु केही नभएपनि नमस्कार गरेर फर्किने थियौँ, कार्यालयमै भएका बेला पनि हामीलाई छैनन् भनेर फर्काउछन् ।’

जनमुक्ति सेना हुदाँको प्रमाणपत्र बोकेर मुख्यमन्त्री कार्यालय धेरैपटक धाए दुबै । मुख्यमन्त्री कार्यालयमात्रै हैन, माओवादीकै नेतृ एवं आन्तरिक मामिला तथा कानून सीताकुमारी नेपाली पनि जनयुद्धका घाइते, अपांग तथा बर्हिगमनबाट बाहिरीएका पूर्व लडाकुसँग भेट्नै मान्दिनन् । युद्धकालमै विवाह गरेका उनीहरुको अहिले जेठी छोरी १३ वर्षकी र कान्छी छोरी १२ वर्षकी भए । छोरा ९ वर्षको । बिरामी श्रीमान् साथमा भए पनि अप्ठ्यारो र जोखिमयुक्त काम गर्न सक्दैनन् ।

जसले गर्दा सरस्वतीको एक्लो कमाईले बिहान बेलुकाको छाक टार्न हम्मे हम्मे छ भने, छोराछोरीलाई पढाउन त झनै मुश्किल । घरव्यवहार र छोराछोरी पढाउन नसक्ने भएपछि उनीहरु कामको खोजीमा छन् । ‘हामीलाई हस्ताक्षर हान्ने कुनै जागिर चाहिएको छैन्, बालबच्चा पाल्न र पढाउनका लागि झाडु लगाउने काम पाए पुग्छ,’ उनले भनिन्, ‘दिनभरी मजदुरी गरेर ल्याएको ५०० ले बिहान बेलुका के खाने? छोराछोरी कसरी पढाउने ? श्रीमान गाह्रो काम गर्न सक्नुहुन्न, एक्लो कमाईले कसरी व्यवहार चलाउने ?’

अस्थायी शिविरबाट घर फर्किने देशभरका करिब दश हजार अयोग्य लडाकुका लागि रोजगारीको व्यवस्था गर्ने आश्वासन बाँडिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पटकपटक सरकारमा सामेल भए । उनीमात्रै होइन संघीयतापछि युद्धकालका कमाण्डरको नेतृत्वमा केही प्रदेश सरकार चलिरहेका छन् । द्वन्द्वको समयमा साहदत प्राप्त गरेका, अहिले पनि घाइते, अपांग र अयोग्य भएर घरमा छटपटाइरहेको माओवादी लडाकुकै काँधमा टेकेर सरकारमा रजाँइ गर्न पुगेको पीडितहरुको गुनासो छ ।

तर, अहिलेसम्म आफुहरुलाई सरकारले सिन्को नभाँचेको उनीहरु बताउँछन् । ‘जनयुद्धकै कारण घाइते, अपांग शरीर अंगभंग भएको छ, हामीलाई अयोग्य बनाएर बेघरवार बस्नुपरेको छ,’ सरस्वतीको दुखेसो छ,‘गरिबका छोराछोरीको भविष्य अन्धकार बनाइयो, हजारौँको संख्यामा लास बनाएर अहिले सरकारमा पुगेका कमाण्डरहरुले रजाई गर्ने कामबाहेक पीडितका पक्षमा सिन्को भाँचेका छैनन् ।’

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १०:४०