सूचनाको शक्ति - The Power Of Information

        

खैरो हिरोइनसहित पक्राउ परेका वडा अध्यक्ष जेल चलान

वीरगञ्ज । खैरो हेरोईनसहित पक्राउ परेका पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्पक्षको लागि जेल चलान भएका छन ।

खैरो हेराईनसहित पक्राउ परेका वडाध्यक्ष अमेरिका सहनी पुर्पक्षको लागि जेल चलान भएका हुन । सहनीलाई जिल्ला अदालत पर्साले लागुऔषध मुदामा पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो ।

वडाध्यक्ष सहनीसँगै सोही स्थानका राम आदेश सहनीलाई पनि जिल्ला अदालतले सोमबार जेल चलान गर्न आदेश दिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यसैगरि सोही वडाका वडा सदस्य बलिष्टर सहनीलाई जिल्ला अदालतले एक लाख धरौटीमा छाडने आदेश दिएको खनालले बताए ।

गत साउन ३ गते वडाध्यक्ष अमेरिका सहनीसहित वडा सदस्य बलिष्टर सहनी र राम आदेश सहनीलाई लागुऔषध खैरो हेराईनसहित प्रहरीले पक्राउ गरेको थियो ।

राति साढे १० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।

चेकजाँचको क्रममा प्रहरीले वडा अध्यक्ष सहनीले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

यस्तै उनको पछाडि ना ६२ प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउदै गरेका वडा सदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ०९:५३