सूचनाको शक्ति - The Power Of Information

        

सुडानमा सैनिक कू : सेनाको गोली लागेर ७ जना प्रदर्शनकारीको मृत्यु

एजेन्सी । सुडानमा ‘सैनिक कू’ भएपछि त्यसको विरोधमा प्रदर्शन चर्किएको छ । यस क्रममा सेनाको गोली लागेर कम्तीमा ७ जनाको ज्यान गएको भने १४० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

त्यहाँ सेनाले सत्ता हत्याएपछि प्रदर्शन भइरहेका छन् । सत्ता कब्जाको विरोधमा प्रदर्शन गरेकाहरुको भीडमा सैनिकले गोली प्रहार गरेपछि हताहति भएको बिबिसीले जनाएको छ ।

सुडानको सेनाले सोमबार सरकार भंग गरी सत्ता आफ्नो हातमा लिएको हो । त्यहाँ राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सेनाले सोमबार नै सुडानमा आपतकालीन अवस्था घोषित गरिएको छ ।

कूको नेतृत्व गरेका जनरल अब्देल फतह बुर्हानले सैन्य कदमका लागि दलहरूबीचको राजनीतिक झगडालाई दोष लगाएका छन् । कू पछि सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शनको आयोजना गर्नेहरूलाई पक्राउ समेत गरेको बताइएको छ ।

यस सैन्य कूको विश्वभरि निन्दा गरिएको छ भने अमेरिकाले सुडानलाई सहायतास्वरूप दिने भनेको ७० करोड डलर पनि रोकेको छ ।सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको थियो ।

सुडानमा गैरसैनिक सरकार विघटन, नेताहरू गिरफ्तार सोमबार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो सङ्ख्यामा भेला भएर गैरसैनिक शासनको माग गरेको बीबीसीले बताएको छ ।

रिपोर्टका अनुसार सेनाले पदर्शनकारीमाथि गोली हान्ने तथा स्टन ग्रिनेडहरूको प्रयोग गर्ने गरेको छ । सुडानस्थित डाक्टरहरूको सङ्घ र सूचना मन्त्रालयले पनि सैनिक भवनको हाताबाहिर गोली चलाइएको भनेर फेसबुकमा लेखेका छन् ।

घाइतेहरू रगतपच्छे लुगामा अस्पतालमा रहेको तस्बिरहरू सार्वजनिक भएका छन् । सेनाले प्रदर्शनकारीमाथि ज्यादती जारी राखेको छ भने प्रदर्शन पनि रोकिएको छैन ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ०९:४५