सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा ४३ सवारी दुर्घटना, आठ जनाको मृत्यु

सल्यान । सल्यान जिल्लामा तीन महिनामा ४३ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । उक्त अवधिमा १० ट्रक, आठ बस, १२ जिप, १२ मोटरसाइकल, एक ट्याक्टर र अन्य छवटा साना सवारीसाधन दुर्घटनामा परेका छन् ।

ट्राफिक कार्यालय सल्यानका प्रहरी नायब निरीक्षक दीपेन्द्रबहादुर केसीले साउनमा १८, भदौमा १६ र असोजमा आठवटा साना–ठूला सवारी दुर्घटना भएको बताए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले सडकको अवस्था हेरी सवारी साधनको गति कायम गर्नुपर्ने र गाडी दुर्घटनाबाट बच्न अनिवार्य ट्राफिक नियम पालना गर्नुपर्ने बताए ।

यसैबीच आइतबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बागचौर नगरपालिकाका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको छ । बिहान ८ बजे सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे. १ च १८९० नम्बरको सो जिप राप्ती लोकमार्गको कपुरकोट–३, मूलपानी नजिकै दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले दुर्घटनामा परी घाइते भएकाको उपचार प्रादेशिक अस्पताल तुल्सीपुरमा भइरहेको बताए । गाडी सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनाका कारण अझै खुल्न सकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ०९:०३