काठमाडौं । स्तन क्यान्सर स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट हुने संक्रमण हो । यसरी भएको परिवर्तनपछि बन्ने गिर्खा, गाँठागुँठी र घाउको रुप नै स्तन क्यान्सर हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन ६ जना स्तन क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । त्यस्तै प्रत्येक दिन ३ जना महिलाको मृत्यु स्तन क्यान्सरका कारण हुने गरेको तथ्यांक छ । स्तन वा काखीमा स–साना गिर्खा देखिनु, स्तनबाट असामान्य रुपले दूध, पानी अथवा रगत आउनु, छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु स्तन क्यान्सरका लक्षण हुन् ।
स्तन क्यान्सरको पहिचान कसरी गर्ने ?
सम्बन्धित परीक्षण अथवा बायोप्सी परीक्षणविना शरीरमा देखिएका कुनै पनि समस्या क्यान्सर हो भनेर यकिन गर्न सकिँदैन । स्तन क्यान्सर २० वर्षमाथिका कुनै पनि महिलालाई हुनसक्ने भएकाले उमेर अुनसारको परीक्षणमा ध्यान दिन विशेषज्ञहरु सुझाव दिन्छन् । २० वर्ष कटेका महिलाले घरमै सेल्फ एक्जामिनेसन विधी अपनाउनु सजग रहने एउटा माध्यम हो ।
महिनावारी भएको पाँचदेखि सात दिनपछि आफ्नो स्तन र काखीमुनि आफैंले छामेर अनावश्यका गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ । गर्भवती तथा महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एकै दिन आफ्नो स्तन जाँच गर्नुपर्ने हुन्छ । तर, बच्चा जन्माइसकेका महिलाले वर्षमा एकपटक विशेषज्ञको सल्लाहमा परीक्षण गराउनुपर्ने हुन्छ ।
४० भन्दा कम उमेर भएका तर परिवारमा कसैलाई क्यान्सर भएको घटना भए त्यस्ता महिलाले विशेषज्ञको सल्लाहमा भिडियो एक्स–रे गराउनुपर्छ । ४० देखि ४५ वर्ष उमेर समूहका महिला जसको घरमा कसैलाई स्तन क्यान्सर छ भने उनीहरुले विशेषज्ञसँगको सल्लाहमा मात्रै मेमोग्राममार्फत् परीक्षण गर्नुपर्ने मेडिकल अंकोलोजिष्ट डा. अरुण साही बताउँछन् । घरमा कसैलाई क्यान्सर नभए पनि ४५ देखि ६५ उमेरका महिलाले प्रत्येक वर्ष एकपटक मेमोग्राम गराउन डा. साहीको सुझाव छ ।
त्यस्तै स्तन र पाठेघरको मुखको क्यान्सर एक अर्कासँग जोडिएका हुनाले स्तन क्यान्सर भएको भए पाठेघरको मुखको क्यान्सरसमेत हुनसक्ने र पाठेघरको मुखको क्यान्सर भएको भए स्तन क्यान्सर पनि देखिन सक्ने हुन्छ । यसको पहिचानका लागि ब्राका परीक्षण गराउन सुझाउँछन् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पिया । नेपालमा ब्राका परीक्षण सेवा शुल्क २० देखि ३० हजार पर्न आउँछ ।
स्तन क्यान्सर भएमा स्तन फाल्नैपर्छ ?
अन्य क्यान्सरजस्तै स्तन क्यान्सरका पनि विभिन्न चरणहरु हुन्छन् । यसको उपचारमा शल्यक्रिया र विभिन्न थेरापीहरु प्रयोग हुन्छन् । सुरुको अवस्थामा पत्ता लागेको क्यान्सरमा स्तन जोगाएर उपचार गर्न सकिन्छ जसलाई ब्रेस्ट कन्जर्भिङ सर्जरी भनिन्छ । यो सर्जरीमा स्तनमा भएको मुख्य गिर्खा र त्यसको वरिपरीको एक सेन्टिमिटरसम्मको भाग फ्याँकिन्छ । र काखीसँग जोड्ने लिंक नोटहरु समेत शल्यक्रिया गरेर फालिन्छ ।
तर, यदि गिर्खा स्तनको केन्द्र भागमा छ अथवा धेरै फैलिइसकेको छ भने स्तन फालेर नै शल्यक्रिया गर्नुपर्ने ब्रेस्ट सर्जन डा. शन्तवीर महर्जनको भनाइ छ । तर, सुरुको चरणमा गरिएको स्तन क्यान्सरको शल्याक्रियामा शल्यक्रियापसछि पनि स्तनको आकार उस्तै रहने डा. महर्जनको दाबी छ । तर, स्तन नफाली शल्यक्रिया गरिएका क्यान्सर सर्भाइभरलाई पनि रेडिएसन थेरापी भने दिनुपर्ने हुन्छ ।
स्तनको शल्यक्रिया गरेका लगभग १०० प्रतिशतलाई रेडिएसन थेरापी गर्नुपर्ने रेडियोलोजिष्ट डा.उज्ज्वल चालिसे बताउँछन् । अपरेसन गरिसकेपछि पनि क्यान्सरका कोसिकाहरु बाँकी रहन सक्छन् र त्यसलाई थप निस्क्रिय गराउन रेडिएनसन आवश्यक हुन्छ, यदी कसैको लिम्फोमा पोजेटिभ थियो भने स्तन फाले पनि ४÷५ सेन्टिमिटरको ट्युमर थियो भने उनीहरुलाई रेडियोथेरापी आवश्यक हुने डा. चालिसे बताउँछन् ।
पुरुषमा स्तन क्यान्सर
पश्चिमा मुलुकहरुमा पुरुषमा स्तन क्यान्सर सामान्य बनिसकेको छ । नेपालमा भने महिलाको तुलनामा पुरुषमा यो समस्या कम नै देखिएको छ । अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजिका अनुसार प्रतिवर्ष २ हजार ६५० जना पुरुषमा स्तन क्यान्सर देखिने गरेको र तीमध्ये ५३० जनाको मृत्यु हुने गरेको छ । पुरुषमा हुने स्तन क्यान्सरका लक्षण महिलासँग धेरैजासो मिल्दाजुल्दा हुन्छन् ।
चार वर्षअघि स्तन क्यान्सर देखिएका ज्ञान लामा सुरुवाती दिनहरुमा आफ्नो स्तनको माथिल्लो भागबाट थोरैथोरै पानी आउने, एकएक थोपा गरी रगत देखिने गरेको अनुभव सुनाउँछन् । केही समय औषधि खाएर समस्या कम भएका लामालाई यही समस्या पटकपटक दोहोरिएपसछि बायोप्सी गरेपछि स्तन क्यान्सर पहिचान भयो । लगातारको उपचारपछि अहिले उनी सामान्य जीवनमा फर्किएका छन् । थोरै पुरुषमा स्तन क्यान्सर देखिने भए पनि सम्भावना रहने भएकाले वर्षमा एक पटक आफ्नो शरीर परीक्षण गराउन लामाको सुझाव छ ।
क्यान्सरको उपचारमा परिवारको भूमिका
कुनै समय घातक रोगको रुपमा चिनिएको क्यान्सरको उपचार अहिले नेपालमा पनि विभिन्न हिसाबले सहज भइसकेको छ । सजगता र समयमै पहिचान नै क्यान्सरको पहिलो उपचार भएको विशेषज्ञहरु बताउँछन् । क्यानसर रोग पराजित गरेकाहरु सही उपचार प्रक्रियामा पुगिसकेपछि पनि परिवारको हौसलाले उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।
सही उपचार र परिवारको साथ, सपोर्ट पाए उसले रोगलाई जित्नसक्छ, स्तन क्यान्सर विजेता बिनु केसी भन्छिन् । ‘क्यान्सर सर्भाइभरका लागि परिवारको सपोर्टले पनि शक्ति दिन्छ र औषधिको जस्तै काम गर्छ । स्तन क्यान्सरलाई मृत्युसँग तुलना गर्ने मानसिकता परिवर्तन गर्नुपर्छ । नकारात्मक होइन, सकारात्मक टिप्पणीले उर्जा दिन्छ । बिचरा भन्ने होइन, हौसला दिऔँ स्तन क्यान्सरलाई जित्न सकन्छि,’ केसी भन्छिन् ।
स्तन क्यान्सरको उपचारमा सर्भाइभर परामर्श दाता र विशेषज्ञबीचको समन्वय
एघार वर्षअघि स्तन क्यान्सर सर्भाइभर बनेकी प्रमिता खनालले आफ्नो उपचारका लागि धेरैतिर भौंतारिनु पर्यो । धेरैवटा अस्पतालबाट उपचार सेवा लिएपछि अहिले क्यान्सर विजेता मात्रै बनेकी छैनन्, हजारौं सर्भाइभरकी परामर्शदाता पनि बनेकी छिन् । खनाल क्यान्सरका नयाँ सर्भाइभरलाई परामर्श दिन र विशेषज्ञसँगको पहुँच पुर्याउन क्यान्सर विजेताहरुको पहलमा खोलिएको नेपाल क्यान्सर सोसाइटी नामक संस्था नेतृत्त्व गरिरहेकी छिन् ।
नेपालको हकमा कतिपय नयाँ सर्भाइभरहरुमा चेतना भएर पनि परिवारको साथ कम हुने, सामाजिक डरका कारण उपचारमा आउन नसक्ने भएकाले आफूहरुले परामर्शदाताको रुपमा विशेषज्ञसम्मको पुहँचलाई सहज बनाउन काम गरिरहेको उनी बताउँछिन् । ‘कतिपय परिवारका सदस्यसँग र विशेषज्ञसँगसमेत भन्न नसकेका कुराहरु हामीसँग भन्नुहुन्छ, नयाँ सर्भाइभरहरु,’ खनाल भन्छिन् । समुदाय र विद्यालय स्तरमा जनचेतनाको तहमा काम गरिरहँदा पाठ्यक्रममा नै क्यान्सर सचेतनाबारे सामग्री राखिए क्यान्सर न्यूनीकरणमा सहयोग पुग्ने उनको बुझाइ छ ।
।