सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँके ट्राफिकमा फेरबदल, सेटिङ्गमा ‘अब्बल’लाई पोष्ट इन्चार्ज

बाँके । आइतबार दिउँसो २ बजे ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरमा पत्रकारलाई बोलाएर भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । ट्राफिक प्रहरी प्रमूख फेरिएसँगै भेटघाट तथा परिचयात्मक कार्यक्रम भन्दै कार्यक्रम आयोजना गरिएको थियो । नयाँ ट्राफिक प्रहरी प्रमूख ऐनबहादुर मल्लले दर्जन बढी पत्रकारलाई कोहलपुर निम्त्याएका थिए ।

नयाँ ट्राफिक प्रहरी प्रमूखसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम चलिरहेकै बेला बाँकेका पत्रकार कृष्ण ओलीले आइतबार नै सामाजिक सञ्जाल फेसबुकमा ट्राफिक प्रहरीलाई इङ्गित गर्दै गम्भीर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बिट अनुसारको मासिक रकमको लाइन मिलाइसकेपछि मैले यस्तो गर्छु उस्तो गर्छु भनेर पत्रकार सम्मेलन गर्नुको अर्थ के छ र ?’

हुन पनि उनले प्रश्न उठाएजस्तै बाँकेमा ट्राफिक प्रहरीले बिटअनुसार मासिक रकमको लाइन मिलाइसकेपछि पत्रकारसँग भेटघाट गर्दै यसो र उसो गर्छु भन्दै प्रतिवद्धताका चाङ्ग लगाएको छ । काज खटाउने र नसिहत दिने निहुँमा बाँकेका ट्राफिक प्रमूखले मासिक रकमको लाइन मिलेपछि मनपरीरूपमा जवानदेखि अधिकृतसम्मको सरूवा गरेका समाचारहरु बाहिरिएका छन् ।

बाँके ट्राफिक प्रहरीमा काज सरूवाको नाममा हाकिम र उच्च अधिकृतको मनपरी हुँदै आएको खुलेको छ । जहाँबाट मासिक नियमित रकम आएको छ त्यहाँको इन्चार्ज वा सिपाहीलाई केही चलाइँदैन बाँके ट्राफिक स्रोतले भन्यो ‘रकम नदिनेलाई दुःख दिने नियतले विना कारण अन्यत्र सरूवा गर्ने प्रवृति बढेको देखिएको छ । यसै अनुसार शुक्रबार मात्रै बाँके ट्राफिकमा आन्तरिक काज सरूवा वा फेरबदल गरिएको छ ।’

ट्राफिक प्रमूखले काज सरूवा वा हेरफेरका नाममा कसैलाई काखा र कसैलाई पाखा गरेको बाँकेका ट्राफिक प्रहरीभित्रै गुनासो छ । बाँकेका चर्चित ट्राफिक पोष्टमा असुलीकर्ताहरू पठाइएको पनि स्रोतले बतायो । गनापुर, नेपालगन्ज बसपार्क, फुल्टेक्रा चौलिक्का, सम्शेरगन्ज, कुसुम, ढकेरी, सम्झना लगायतका क्षेत्र ट्राफिकका लागि उपयुक्त मानिन्छन् । ती ठाउँमा मासिक रकमको लाइन मिलाएर इन्चार्ज पठाइएको पनि स्रोत बताउँछ ।

काजमा खटाउनै पर्ने प्रशासनिक सुविधालाई टेकेर राजनीतिज्ञ, पहुँचवाला तथा शक्तिकेन्द्रले आफ्नो मान्छेलाई चाहेको ठाउँमा पठाउने गरेको खुलेको छ । हाकिमको स्वार्थ र शक्ति केन्द्रको मनपरीकै कारण प्रहरीमा काजको दुरूपयोग भएको देखिएको छ । जस्तो शुक्रबारमात्रै बाँके ट्राफिकले यहाँका सबै जवानदेखि इन्चार्जलाई मनपरी हेरफेरका नाममा जिल्लामा आन्तरिक सरूवा गरेको खुलेको छ ।

६ महिना एक ठाउँमा बस्न नपाउँदै हाकिमले भने अनुसार मोटो रकम बुझाउन नसकेपछि सरूवा गर्ने प्रवृतिले बाँकेको ट्राफिक व्यवस्थापनमा झनै समस्या उत्पन्न भएको छ । ‘एउटा काज सरूवामा राजनीतिक दबाब छ, अर्कोमा संगठन प्रमुखको स्वार्थ हुन्छ,’ एक ट्राफिक अधिकारीले भने ‘नयाँ हाकिम आयो कि सरूवा वा हेरफेर भयो । यो प्रवृत्तिको अन्त्य हुनपर्छ ।’ यसरी स्वार्थ र दबाबमा काजको दुरुपयोग गरिँदै आएको खुलेको छ ।

काज सरुवा गर्नै नमिल्ने सामान्य अवस्थामा पनि प्रहरी नियमावलीको दुरुपयोग गर्दै काज सरुवा हुने गरेको छ । प्रहरी नियमावली २०७१ को परिच्छेद ५ मा पदस्थापन तथा सरुवा सम्बन्धी व्यवस्था छ । नियमावलीको दफा ५२ काज सम्बन्धी व्यवस्था गरिएको छ । दफा ५२ को उपनियम (१) मा प्रहरी कर्मचारीलाई सामान्यतया काजमा खटाइने छैन भनेर उल्लेख छ । उपनियम (२) मा भने विशेष परिस्थितिमा काजमा खटाउन सक्ने व्यवस्था छ ।

तर त्यसका लागि प्रहरी प्रधान कार्यालयले काजसम्बन्धी छुट्टै मापदण्ड बनाई लागू गर्न सक्ने उल्लेख छ । बाँकेमा भने नयाँ हाकिम आएलगत्तै जिल्लाका विभिन्न पोष्टहरुमा आफू निकटका वा सेटिङ्गमा ‘अब्बल’ मासिक रकमको लाइन मिलाउन सक्नेलाई इन्चार्ज बनाएर आन्तरिक काज सरुवा गरिन्छ । सोहीअनुरुप हाल आएका नयाँ ट्राफिक प्रहरी प्रमूख एवं प्रहरी निरक्षक ऐनबहादुर हमालले पनि आफू आएलगत्तै जिल्लामा ट्राफिक प्रहरी फेरबदल गरिसकेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ०७:४१