बाँके । नेपालगन्जमा पहिलो पटक माता बागेश्वरी महादिपोत्सव हुने भएको छ । पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा ११ हजार दीप प्रज्वलन गरी माता बागेश्वरी महादिपोत्सव गर्न लागिएको हो ।
जय सियाराम युवा क्लब नेपालगन्जको आयोजनामा यही कार्तिक १६ गते धनवन्तरी जयन्ती (धन्तेरस)को दिन बागेश्वरी मन्दिर परिसरमा भगवान र माता बागेश्वरीको फोटो राखेर पुजा गरी महादिपोत्सव प्रारम्भ हुने आयोजकले जनाएको छ ।
तिहारको शुभ अवसरमा क्लबले बागेश्वरी मन्दिर परिसरमा ११ हजार दीप प्रज्वलन गरेर महादिपोत्सवको तयारी तीब्ररुपमा भइरहेको क्लबका अध्यक्ष सुशील शाहुले जानकारी दिएका छन् । महादिपोत्सव कार्यक्रममा पश्चिम नेपालका हिन्दु धर्मावलम्बीहरुका लागि पहिलो तथा सबैभन्दा ठूलो र भब्य कार्यक्रम हुने आयोजकले जनाएको छ ।
हिन्दु सनातन धर्मका देवता रामले वनबासको अवधि समाप्तपछि अयोध्या फर्किएको खुसीमा दीप प्रज्वलन गरेर स्वागत गर्ने पनि आयोजकले जनाएको छ । कार्यक्रममा यस क्षेत्रका जनप्रतिनिधि, जिल्लाबासी, बुद्धिजीवी, महिला तथा बालबालिका सबैलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।
दीपावलीकै अवसर पारेर राम भगवानको भब्य शोभायात्रा समेत निकाल्ने जनाइएको छ । माता बागेश्वरी महादिपोत्सवको अघिल्लो दिन कार्तिक १५ गते सोमबार साँझ ५ बजे श्री राजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगरदेखि सुरु गरी बजार क्षेत्र परिक्रमा गर्दै बागेश्वरी मन्दिर पुगेर शोभायात्रा समापन गरिने पनि युवा क्लबले जनाएको छ ।
युवा क्लबले शोभायात्रामा सहभागिताका लागि पनि सबैलाई आग्रह गरेको छ । त्यस्तै महादिपोत्सवकै दिन मध्यान्न १२ बजेदेखि रामायणको सुन्दरकाण्ड पाठ पनि हुनेछ र उक्त पाठको समापनपछि साँझ ५ बजेदेखि महादिपोत्सव ११ हजार दियो प्रज्वलन कार्यक्रम सुरु हुने क्लबका अध्यक्ष शाहुले जनाएका छन् । (पुजा वैश्यको सहयोगमा)
।