बझाङ । जिल्ला अस्पताल बझाङमा विद्युत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । लगातारको बर्षाका कारण गएको बाढीपहिरोले बझाङ जोडने राष्ट्रिय प्रसारण लाईन अवरुद्ध भएको छ ।
विधुत सेवा अवरुद्ध हुँदा अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता उपकरण सञ्चालन हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो ।
विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन समस्या भएको छ । विद्युत समस्याका कारणले अस्पतालमा आएका सेवाग्राहीहरूलाई तत्काल सेवा दिन असजिलो बन्दै गएको अस्पताल स्रोतले जनाएको छ ।
दैनिक सयौको संख्यामा विरामीहरु अस्पताल आउने गरेको र विधुत नहुँदा बिरामीहरुलाई दिनभर कुराउनु पर्ने अवस्था आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा योगेन्द्र खातीले बताउनुभयो उहाँले भन्नुभयो, ‘विधुत सेवा अवरुद्ध भएको एक हप्ता भन्दा बढी भयो ।
एक हप्ता देखि अस्पतालमा भएको वैकल्पिक उर्जा जेनेरेटर चलाएर सेवा दिई रहेका छौ । जेनेरेटर चलाउनका लागी डिजेल पनि सकियो । बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल पाउने अवस्था छैन ।
शुक्रबार देखि सबै सेवा ठप्प भएको छ । अहिले त आकस्मिक सेवा पनि दिन सकिएको छैन । सुत्केरी हुन नसकेका र बाढी पहिरोमा परेकाहरु उपचारका लागी जिल्ला अस्पताल आउने गरेका छन । यस्ता प्रकारका विरामीहरुको शल्यक्रिया गर्नु पर्छ ।
विधुत सेवा नहँुदा समस्या भएको छ ।’ चैनपुर बजारमा विजुली बलिरहेको रहेको भएपनि संम्वेदनशिल क्षेत्र अस्पतालमा विजुली नभएको र विधुत सेवा सुचारु गर्नका लागी विधुत प्राधिकरण वितरण शाखा चैनपुरमा जानकारी गराएको उहाँको भनाई छ ।
नेपाल विधुत प्राधिकरणले २ सय किलोवाटको जेउलीगाड जलविधुत आयोजनाबाट जिल्ला सदरमुकाम चैनपुरमा विहिवार साँझ बाट विधुत सेवा सुचारु गरेको छ ।
विधुत प्राधिकरण वितरण शाखा चैनपुरले विधुतको खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विधुत आपुर्ति गरिरहेको छ ।
अस्पताल लाईनमा विधुतका पोल ढलेको र केहि स्थानमा मर्मत गनु पर्र्ने भएकाले समय लाग्ने भएका कारण आपुर्ति गर्न नसकिएको विधुत प्राधिकरण वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्र राय यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्ला अस्पतालले विधुत आफुर्तिका लागी कार्यालयमा जानकारी गराएको छ । हामीले मर्मतका लागी प्रयास गरिरहेका छौ । अस्पताल लाईनमा पहिराले पोल ढालेको र ट्रान्सफर्मरमा समस्या देखिएको छ ।
राष्ट्रिय प्रसारण लाईन मर्मतमा अझै समय लाग्ने देखिन्छ । हामी अस्पतालमा पनि सके जति चाँडै यसै लाईन बाट अस्पतालमा विधुत आपुर्ति गर्ने छौ ।’ बैतडीको खोडपे देखि चैनपुर सम्म ६० भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाईन मर्मत गर्न समय लाग्ने देखिन्छ ।
डडेल्धुरा सम्म सडक खुलि सकेकाले यो हप्ता भित्रै जिल्लाको अवरुद्ध विधुत सेवा सुचारु हुने यादवको भनाई छ ।
।