सूचनाको शक्ति - The Power Of Information

        

बारेकोटका १५ सय घरधुरी अन्धकारमा

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका–३, मुल्साममा रहेको गाग्राखोला लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा १५ सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् ।

गत कात्तिक २ गते अविरल वर्षासँगै आएको पहिरोले विद्युतको कुलो बगाउँदा बारेकोट गाउँपालिका २ र ३ का १५ सयभन्दा बढी घरधुरी अन्धकार भएका हुन् ।

गाउँपालिकाको पहाडा मुल्साम, स्याला मुल्साम, पछेउरी, बूढागाउँ, रोकायगाउँ, अयर्ना, सेरी, लिम्सा, ध्यार गाउँ लगायतका बस्ती विद्युत सेवाबाट वञ्चित भएको बारेकोट गाउँपालिका–२ का स्थानीय हरिबहादुर नेपालीले जानकारी दिए ।

पहिरोले विद्युतको कुलोमा क्षति पुर्याउँदा बैङ्क, गाउँपालिका र वडाबाट सेवा प्रवाह गर्न समस्या भइरहेको गाउँपालिकाले जनाएको छ । विद्युतको कुलो कहिले बन्ने भन्ने विषयमा सरकारी निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । बालबालिकालाई बेलुका अध्ययन गर्नसमेत समस्या भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतवार ०७:५३