काठमाडौं । सरकारले अब १८ वर्षमुनि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप चाँडै लगाउन सुरु गर्ने भएको छ । अहिलेसम्म सरकारले १८ वर्षमाथिका नगारिकलाई मात्र कोरोना खोप दिइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत सोमबार अमेरिकाबाट १ लाख डोज फाइजर खोप नेपाल ल्याइँदैछ । यसपछि १२ वर्षदेखि १८ वर्षसम्मका बालिबालिकालाई खोप दिन सुरु गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलका अनुसार खोप सीमित भएकाले तत्काललाई १२–१८ वर्ष समूहका दीर्घरोगीलाई मात्र दिइनेछ ।
पछि थप खोप आएपछि यस समूहका सबैलाई लगाउन सुरु गर्ने योजना सरकारको छ । अमेरिकाका फाइजर र बायोएनटेक कम्पनीद्वारा उत्पादित फाइजर खोप अमेरिकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाले लगाइसकेका छन् ।
यसैबीच फाइजर–बायोएनटेक कम्पनीले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा गरिएको कोरोना खोपको परीक्षण पनि सफल भएको जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त उमेर समूहको क्लिनिकल परीक्षणले खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी भएको पुष्टि भएको छ ।
‘२ हजार २६८ बालबालिका सहभागी गराइएको उक्त परीक्षणमा एकतिहाइलाई प्लेसेबो औषधि खुवाइएको थियो भने दुईतिहाइलाई खोप लगाइएको थियो,’ कम्पनीद्वारा शुक्रबार सार्वजनिक परीक्षण प्रतिवेदनमा भनिएको छ, ‘परीक्षणमा संलग्न १६ जना बालबालिकामा गरिएको अध्ययनमा औषधि सेवन गराइएका १३ जनालाई कोरोना संक्रमण देखिएको थियो भने फाइजर खोप लगाइएका ३ जनालाई मात्र संक्रमण देखिएको थियो ।’
।