सूचनाको शक्ति - The Power Of Information

        

धनगढी–बझाङ उडान गर्दै नेपाल एयरलाइन्स

बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हवाई यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ । धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो ।

लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाई यात्रा एक मात्र विकल्पका रूपमा रहेको छ । धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुने बताए । धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ रुपैयाँ भाडादर कायम भएको छ । धनगढीदेखि बझाङको तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ रुपैयाँ हवाई भाडादर कायम भएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।

असोज ३१ गतेदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसँै मनाउन घर आएका काठमाडौं, पोखरा, धनगढी, नेपालगन्ज लगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन् । धनगढीबाट आउने मालवाहक गाडी, बस र कतिपय यात्रु समेत बीच बाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतवार ०६:५४