सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

माधव नेपालले भने, ‘१० बुँदे सहमतिले एमालेमा हरिविजोग’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् । आज (शनिबार) सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० बुँदे सहमति गरेर एमालेमै बसेका तेस्रो धारका नेताहरुको विजोग भएको टिप्पणी गरेका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको पनि बताए । अध्यक्ष नेपालले भने, ‘आदेशको पालना गर्यो भने स्याबास १ बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको भनेर हेप्छन्, सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीको कस्तो हरिविजोग छ ? पार्टीभित्र न कुनै मर्यादा, न कुनै सम्मान छैन ।’

गत बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर दश बुँदे गरिएको थियो । अब के दश बुँदे, दश बुँदे, दश बुँदे ?’

एमाले उपाध्यक्ष भीम रावलले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा दिएका थिए । उपाध्यक्ष रावलले राजीनामा दिँदै भनेकाछन्, ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनु कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ ।’

एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका असन्तुष्टि रहेको थियो । १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक रहेका उपाध्यक्ष रावलले कार्यदलबाट राजीनामा दिएपछि एमालेमा फेरि विवाद छताछुल्ल भएको छ ।

उपाध्यक्ष रावलले शुक्रबार बसेको स्थायी कमिटी बैठकमा फरक मत राख्दै १० बुँदे कार्यान्वयन नभएको बारे आपत्ति जनाएका छन् । १० बुँदेबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि नेताहरुले त्यसमा प्रश्न उठाएका हुन् । उपाध्यक्ष रावलले आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको हकमा १० बुँदे लागु किन नभएको भन्दै स्थायी कमिटी बैठकमै आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १७:२१