सूचनाको शक्ति - The Power Of Information

        

आरोप प्रमाणित होला ?

‘मदन भण्डारीको हत्याराको प्रमाण केपी र विद्याले लुकाए’

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर आरोप लगाएका छन् ।

शनिबार झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको दावी गरे ।

‘आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ,’ भन्दै प्रस्तुत हुने केपी ओलीले आफू दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदासमेत हत्याराको खोजी गर्न नसकेको बताए ।

उनले भने, ‘उहाँहरू (केपी र विद्या)ले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन । तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’

पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्तासमेत रहेका नेता खतिवडाले नेकपा (एमाले)ले अहिले मदन भण्डारीको नाम मात्रै बेचिरहे पनि वास्तविक सम्मान दिन नसकेको आरोप लगाए । नेता खतिवडाले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै राष्ट्र र राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गरेको आरोप लगाए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १६:५९