सूचनाको शक्ति - The Power Of Information

        

जन्मदर्ताका लागि १० हजार रुपैयाँ मागेपछि रोकियो विद्यालय भर्ना

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ ले जन्मदर्ताका लागि १० हजार रुपैयाँ मागेपछि एउटा परिवारका बालबालिका विद्यालय जान पाएका छैनन् ।

स्थानीय रिङ्कु देवीले आफ्ना चार सन्तानको जन्मतदर्ताका लागि रामबहादुर महतो र कम्प्युटर अपरेटर ऐबुल राईले १० हजार रुपैयाँ मागेपछि छोराछोरीलाई विद्यालय पठाउन नसकेको बताए ।

विद्यालयमा नाम लेख्न जन्मदर्ता मागेपछि जन्मदर्ताका लागि आफू एक वर्षदेखि वडा कार्यालय धाइरहे पनि नपाएको उनको दुःखेसो छ । आफूसँग १० हजार रुपैयाँ नभएकोले जन्मदर्ता लिन नपाएको रिङ्कुदेवीको गुनासो छ ।

आठ महिनाअघि नै आफूले एक हजार रुपैयाँ बुझाइसकेको र थप नौ हजार रुपैयाँ जुटाउन नसक्दा जन्मदर्ता लिन नपाएको उनले बताए । स्थानीयवासी भानु यादवले पनि तीन सन्तानको जन्मदर्ता बनाउन १० हजार तिर्नुपरेको बताए ।

अर्का स्थानीयबासी रामनारायण यादवले पनि आफ्ना दुई सन्तानको जन्मदर्ता बनाउन जाँदा वडाध्यक्ष र कम्प्युटर अपरेटरले १० हजार रुपैयाँ मागेपछि वार्षिक ३६ प्रतिशत व्याजदरमा ऋण लिएर रकम बुझाएको बताए ।

जन्मदर्ता गर्दा १० हजार तिर्नुपरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष महतोलाई गएको असोज २४ गते १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

मटिहानी नगरपालिकाको सबैजसो वडाले जन्मदर्ता, विवाह दर्ता, मुत्यु तथा अन्य व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बनाउँदा ५०० देखि एक हजार रुपैयाँसम्म असुल गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

जन्म, मृत्यु, विवाह लगायत सामाजिक दर्ता ३५ दिनभित्र निःशुल्क दर्ता गर्ने र ३५ दिन नाघेपछि ५० रुपैयाँ जरिवाना गरी दर्ता गर्ने सरकारी प्रावधान छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १६:१४