सूचनाको शक्ति - The Power Of Information

        

बाढीपीडितका दुःख : लाखौं गुमाएर पाँच हजार राहत

बैतडी । असोज ३१ देखि तीन दिनसम्म भएको अविरल वर्षका कारण देशभर जनधनको ठूलो क्षति भयो । बैतडीमा मात्र चार जनाले ज्यान गुमाए । कात्तिक सुरुमा भएको वर्षाले बैतडीका सयौँ घरपरिवार घरबार विहीन भएको छ भने जिल्लाका दर्जनौँ बस्ती जोखिममा छन् । सबैभन्दा बढी क्षति सिगास गाउँपालिकामा भएको छ ।

सिगास–५ मा पाँचवटा घर भत्किनुका साथै ११० परिवारको १५० बिगाह धानखेत बगरमा परिणत भयो । पहिरोले सुर्नया गाउँपालिका–८ को रातापानी बस्तीका ६ घरपरिवार विस्थापित भए । पहिरोले घर भत्काएपछि ६ घरपरिवार पूर्णरुपमा विस्थापित भएको वडाध्यक्ष आनन्द बोहराले जानकारी दिए ।

कात्तिक १ मा खसेको पहिरोले स्थानीय धनुवा बोहरा, रामसिंह बोहरा, प्रेम बोहरा, उद्धव बोहरा, चक्र बोहरा र सालिभान बोहराको परिवार पूर्णरुपले विस्थापित भएका छन् । यस्तै मल्लोढोले टोलमा २० घरपरिवार दलित बस्ती पहिरोको उच्च जोखिममा छन् । बस्तीको माथिबाट खनिएको सडकका कारण पहिरो खसेपछि बस्ती नै पहिरोको जोखिममा परेको हो ।

ढोल्यामोडदेखि वडा कार्यालय जोड्ने सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक तलतिरको बस्ती जोखिममा परेको छ । यस्तै रातापानी बस्तीको २७ घरपरिवार पहिरोको जोखिममा परेका वडाध्यक्ष बोहराले बताए । कठमडा टोलका १० घरपरिवार पहिरोको जोखिममा परेका बताइएको छ ।

यस्तै सुर्नया गाउँपालिका–७ को तिन्नाकोइला बस्तीमा तीन घर पहिरोको जोखिममा छन् । घरमाथिबाट खसेको पहिरोले तीन घर आंशिकरुपमा पुरेको स्थानीय गणेश कुँवरले जानकारी दिए । त्यस्तै मेलौली नगरपालिका–२ सिराडमा पहिरोका कारण एक घरपरिवार विस्थापित भएको छ ।

स्थानीय जीतबहादुर लुहारको घरमा पहिरो खसेपछि परिवार नै विस्थापित छ । लुहारको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । दशरथचन्द नगरपालिका–२ का विभिन्न ठाउँमा क्षति भएको छ । वडा २ मा तीन घर भत्किनुका साथै विभिन्न ठाउँको बाटोघाटो भत्किएको स्थानीय एमाले नेता सुर्य बोहराले बताए ।

सरगरमा एक घर भत्किए पनि १८ घरहरु पहिरोको उच्च जोखिममा रहेको बोहराले बताए । पहिरोका कारण विद्यालय जाने बाटो र केही सरकारी संरचनामा समेत क्षति पुगेको छ । पाटनमा वर्षाले ५ वटा घर पूर्णरुपले भत्किएको छ भने अन्य धेरै घर संरचना तथा सरकारी संरचनामा क्षति पुगेको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले वताए ।

पीडितलाई राहत दिन नसकेकोमा भने उनी चिन्तित छन् । श्रोत नभएकाले विगतका वर्षमा पनि लाखौँको क्षति भएका परिवारलाई पाँच हजारमात्रै दिन सकिएको र यसपालि समेत योभन्दा बढी दिन नसकिने उनको भनाइ छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द स्थानीय सरकारसँग पर्याप्त बजेट नभएको भन्दै पीडितलाई संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १५:२८